एमालेले विकासको नेतृत्व गर्छ-बाँस्कोटा
काभ्रे/नेपाल कम्युनिस्ट पार्टी(एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले एमालेले विकासको नेतृत्व गरेको उल्लेख गरेका छन् । काभ्रेमा भएको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै उनले आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले निर्वाचनमा कुन तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्ने बताएका छन् । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मेयर र उपमेयरको उम्मेदवार पक्का हुने भनेर हल्ला भएको सुनेको भन्दै एमालेभित्र सांसदको टिकट केन्द्रीय पदाधिकारीले पनि नपाएको ईतिहास भएको उल्लेख गरे। उनले कुनै व्यक्तीलाई नभएर संगठनले संगठनलाई टिकट दिने बताए । त्यसका लागि संगठनमा लागेका मान्छेहरुबीच एकता आवश्यक रहेको बताएका छन् । उनले संगठनका नेता कार्यकर्ता अरु सामाजिक रुपमा पनि ईमानदार बन्न अनुरोध गरे ।
निर्वाचनको समयमा उम्मेदबार बन्न अघि सर्ने तर पार्टीको कामको समयमा काम नगर्ने प्रबृत्ति बढ्न दिन नहुनेमा उनले जोड दिए । गृह नगर एमाले मण्डनदेउपुर नगर कमिटीको दोश्रो अधिवेशन उद्घाटन गर्नुहुँदै एमाले आफू बलियो बनेपछि मात्रै लक्ष्य प्राप्तीमा पुग्न सक्ने उल्लेख गरे। मण्डनदेउपुर पार्टी प्यालेसमा भएको कार्यक्रममा बोल्दै उनले एमालेको नेतृत्वले मात्रै विकास निर्माणको अगुवाई गर्न सक्ने बताए ।
नगर कमिटीको अध्यक्ष भएपछि मेयरको उम्मेदवार पक्का भनेर हल्ला सुनेको बताउँदै टिकट एउटा निश्चित प्रकृया पुरा भएपछि मात्रै आउने बताए । मेयरको उम्मेदवारको टिकट केन्द्रीय कमिटीले दिने उनले बताए ।
एमालेले एक सय बर्षमा कस्तो विकास गर्न सकिन्छ भनेर योजना बनाएको उल्लेख गर्दै उनले मण्डदेउपुरको सबै भेगमा विकास भएको र केही समयमै हिगुवापाटी देउपुर सडक कालोपत्र हुने बताए । उनले काभ्रे जिल्लामा बाँकी रहेको विकास निर्माणको काम अघि बढ्ने बताए । समग्र काभ्रेको विकासका लागि एमालेले नेतृत्व गरेकोे उनले स्पष्ट पारे ।
उनले अबको नेतृत्व १२ नै वडामा विजयी हासिल गर्न आवश्यक रहेको बताए । उनले कोही कुनै नेताको उम्मेदबार नहुने र वडा,नगर, प्रदेश र संघीय क्षेत्रमा विजयी हुने स्थिती सृजना गराउन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रेको अध्यक्ष राजन भुर्तेलले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा हामीले हार्दा त्यसको असर अहिले परेको बताए । काभ्रेमा जुन हिसाबले विकास भएको थियो त्यसमा ब्रेक लागेको बताउँदै अब त्यसो गर्न छूट नभएको उनले स्पष्ट पारे ।
अब काभ्रेमा माघ मसान्तसम्मका वडाको प्रत्येक टोलसम्म पार्टीको अधिवेशन गर्ने बताए । उनले पौष मसान्तसम्ममा गाँउ र नगर अधिवेशन र माघ मसान्तसम्ममा टोलसम्म एमालेका अधिवेशन हुने बताए ।
बागमती प्रदेशका सचिवालय सदस्य अशोककुमार व्याञ्जू श्रेष्ठले आफूले बुझेर मात्रै नभएर अरुलाई पनि बुझाउन सक्ने नेतृत्व निर्माण गर्न आवश्यक रहेको सुझाव दिए ।
कार्यक्रममा नगर कमिटीका अध्यक्ष शेरबहादुर डोटेलले नगरले गरेको कार्यकालको प्रगतिको बारेमा अधिवेशनमा जानकारी गराएका थिए । तुलसी नेपालले संचालन कार्यक्रममा स्वागत मन्तव्य सुमन नेपालले राखेका थिए ।