एमाले मण्डनदेउपुरमा शेर बहादुर डोटेलको प्यानल नै विजयी

नेकपा एमाले मण्डनदेउपुर नगर कमिटी अधिवेशनबाट अध्यक्षमा शेरवहादुर डोटेल निर्वाचित भएका छन् प्रतिश्पर्धी रुद्रवहादुर तामाङलाई ९१ मतको फराकिलो अन्तरले पराजित गर्दै डोटेल अध्यक्ष निर्वाचित भएका हुन् ।

डोटेलले १४७ मत ल्याउँदा तामाङले ५६ मत ल्याए । नगर कमिटीका पदाधिकारीहरूमा पनि डोटेल प्यानलकै उम्मेदवार भारी मतान्तरसहित विजयी भएका छन् । उपाध्यक्षमा झलक प्रसाद पौडेल १४७ मत सहित विजयी हुँदा राममणि सापकोटाले ४५ मतमात्र ल्याए भने सचिवमा तुलसी प्रसाद नेपाल ११३ मतसहित विजयी हुँदा सुमन नेपालले ८८ मत प्राप्त गरे ।

यस्तै उपसचिवमा शिवराम तिमल्सिना १४४ मतसहित विजयी हुँदा पाभेल शाहले ५० मत प्राप्त गरे । अर्को एक उपसचिवमा नानु नेपाल निर्विरोध निर्वाचित भइन् ।
अधिवेशनको उद्घाटन एमाले पोलिटव्युरो सदस्य, प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रममा बाँस्कोटाले एमालेले विकासको नेतृत्व गरेको उल्लेख गरे । काभ्रेमा भएको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले निर्वाचनमा कुन तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्ने पनि वताए । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मेयर र उपमेयरको उम्मेदवार पक्का हुने भनेर हल्ला भएको सुनेको भन्दै एमालेभित्र सांसदको टिकट केन्द्रीय पदाधिकारीले पनि नपाएको ईतिहास भएको बाँस्कोटाले वताए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रेको अध्यक्ष राजन भुर्तेलले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा हामीले हार्दा त्यसको असर अहिले परेको बताए । काभ्रेमा जुन हिसाबले विकास भएको थियो त्यसमा ब्रेक लागेको बताउँदै अब त्यसो गर्न छूट नभएको उनले स्पष्ट पारे । अब काभ्रेमा माघ मसान्तसम्मका वडाको प्रत्येक टोलसम्म पार्टीको अधिवेशन गर्ने भुर्तेलले वताए ।