चिसोमा कसरी बच्ने ? यस्ता छन् उपाय
काठमाडौँ । चिसो दिनहुँ बढिरहेको छ । चिसोकै कारण यतिबेला मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिसो मौसममा खोकी, मौसमी फ्लु, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण गर्ने गर्छ ।
प्रायः उमेर ढल्किँदै गएका ५० वर्ष माथिका मानिसलाई यस प्रकारका रोगले बढी संक्रमण गरेको पाइन्छ । यस्तै चिसो मौसममा बालबालिका पनि प्रभावित भइरहेका हुन्छन् । हरेक वर्ष मौसम परिवर्तन हुने गर्छ ।
तर, हाम्रो शरीरलाई मौसमको बानी पर्न समय लाग्छ । यो समयमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा भाइरस, ब्याक्टेरिया हाम्रो शरीरमा प्रवेश गर्छन् र रोग लाग्छ ।
‘जाडोमा स्वास्थ्यको विशेष ध्यान दिनुपर्छ’
जाडोमा ब्याक्टेरिया र भाइरस सक्रिय हुने हुँदा विभिन्न स्वास्थ्य समस्या देखिने हुनाले विशेष ध्यान दिनुपर्ने डा. बली बहादुर बुढा बताउँछन् । बुढाका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका कीटाणु सक्रिय हुन्छन् ।
जाडो मौसममा सरुवा रोगमा श्वासप्रश्वास र पेटसम्बन्धी समस्या बढी देखिने उनको भनाई छ । उनले भने, “जाडो मौसममा विशेषतः दुई प्रकारका सरुवा रोग श्वासप्रश्वास र पेट सम्बन्धी विभिन्न समस्याले बढी सताउँछ ।” उनका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्यामा रुघाखोकी, सामान्य भाइरस, फ्लु घाँटी दुख्ने, पिनास, टन्सिललगायतका देखिने गर्छ । हिजो आजको मौसम एकदमै धुम्म भएकाले यस्तो मौसममा झनै स्वास्थ्य समस्या आउने बुढाले बताए । त्यसैले यो मौसममा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
चिसोबाट कसरी बच्ने ?
हामी चिसोबाट बच्न अनेक उपायहरू लगाइरहेका हुन्छौँ तर, पनि चिसोबाट उन्मुक्ति भने पाउँदैनौँ । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिन्छन् । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या हुने गर्छ ।
बिहानै चिसोमा काम गर्ने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ । पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठीले चिसोबाट बच्नका लागि यस्ता उपायहरू सुझाउँछिन्
झोलिलो पदार्थ खाने
चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दूध, कालो चिया, कागती चिया, कफी तथा केही मात्रामा दूध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा बाफ लिने गर्न सकेमा चिसोबाट केही मात्रामा सुरक्षित हुन सकिन्छ । यस्तै चिसोमा बालबालिका र उमेर पुगेका मानिसहरूलाई बढी समस्या हुने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्छ । यो मौसममा पोसिला खानेकुरासँगै गाईको घिउ र चाकु खाने गरेमा स्वास्थ्यको लागि राम्रो हुन्छ ।
न्यानो कपडा
बालबालिका, वृद्ध वृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । एक छिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ ।
यस कारण न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ । बालबालिकालाई उनको टोपी लगाइदिँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ । यो मौसममा एकसरो कपडा लगाउनु हुँदैन ।
आगो र हिटरको प्रयोग कम गर्ने
चिसो मौसममा सकेसम्म आगो र हिटरको प्रयोग कम गर्नुपर्छ । हिटरको प्रयोगले शरीरमा असर गर्ने भएकाले यसको प्रयोग कम गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । आगो ताप्दा पनि चिसोको असर कम हुन्छ । तर आगो र हिटरको प्रयोग सन्तुलन मिलाएर प्रयोग गरेमा त्यसबाट उत्पन्न हुने समस्याबाट बच्न सकिन्छ ।
चिसो मौसममा सकेसम्म कपडाको प्रयोग गर्नु राम्रो मानिन्छ । दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरूले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन ।
तेल मसाज गर्ने
चिसो समयमा शरीरका विभिन्न भागहरू दुख्ने, झमझमाउने जस्ता समस्याहरू हुने भएकाले तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ । सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ ।
चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्त्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरू देखा पर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज राम्रो मानिन्छ ।
साथै बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्त्वपूर्ण हुन्छ । तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरीरमा भएका न्यानो कपडाहरूको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने काम गर्नुपर्दछ ।
पसिना आएमा कपडा फेरिदिनुपर्छ । यस्तै शुद्ध मिसावट नभएको तोरीको तेलमा यसमा मेथी फुराएर मसाज गर्नु अफै राम्रो मानिन्छ । तर तेल मसाज गर्न बित्तिकै नुहाउनु हुदैन् ।
छालामा फुस्रोपना हुन नदिने
चिसो मौसममा मानिसमा देखिने अर्को समस्या भनेको छालामा फुस्रोपना हो । यस्तो वेला सुक्खा हावा लाग्छ र शरीरको पानी उडेर जान्छ ।
चिसोको वेला शरीरमा पानीको मात्रा पनि कम हुन जान्छ । जसले गर्दा छाला र ओठ फुस्रो हुने र फुट्ने समस्या हुन्छ । यसबाट बच्न चिसो मौसममा अत्यधिक पानी पिउने गर्नुपर्छ । त्यस्तै मोस्चराइजर क्रिम, नरिवल, आलमन्डको तेल छालामा लगाउनुपर्छ । यसले छाला सुख्खा हुनबाट बचाउँछ ।
मर्निङ वाक नगर्ने र स्वास्थ्य जाँच गर्ने
यो मौसममा खासगरी काठमाडौँ उपत्यकामा मर्निङवाक गर्नेहरू सचेत हुनुपर्छ । यहाँको वातावरण निकै प्रदूषित भएकाले चिसो समयमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ । यसका कारण बिहानको समयमा दौडिँदा ध्यान दिनुपर्छ । चिसोमा बिहानी समयमा निक्कै नै चिसो बढ्ने भएकाले यो समयमा बिहानी वाक गर्न स्वास्थ्यका हिसाबले राम्रो मानिदैन् ।
यस्तै चिसोबाट घरेलुरुपमा बच्ने कोसिस गर्दा राम्रो उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य उपचार गर्नुपर्छ ।
निष्कर्ष
चिसो मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण समय हो, विशेष गरी बालबालिका, वृद्धवृद्धा, र दीर्घ रोगीका लागि। चिसोको समयमा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भाइरस र ब्याक्टेरियाबाट सजिलै संक्रमण हुने सम्भावना बढ्छ। यस्ता सङ्क्रमणहरूबाट बच्न स्वास्थ्य सम्बन्धी सावधानी, पोसिलो आहार, न्यानो कपडाको प्रयोग र शारीरिक सक्रियता आवश्यक छ।
डाक्टर तथा पोषणविद्हरूको सुझाव अनुसार, नियमित तातो झोलिलो पदार्थ सेवन, शरीरलाई न्यानो राख्न उचित कपडा र तेल मसाज, तथा छालाको हेरचाह गर्नुपर्छ। त्यस्तै, मर्निङ वाकजस्ता गतिविधिहरू चिसो मौसममा सीमित गर्नुपर्छ।
चिसोबाट बच्नका लागि घरेलु उपायहरू प्रभावकारी भए पनि कुनै गम्भीर समस्या देखिएमा चिकित्सकसँग परामर्श लिनु अत्यन्त आवश्यक छ। स्वास्थ्यप्रति सचेत रहँदा मात्र चिसोको असर कम गर्न सकिन्छ र शरीरलाई रोगमुक्त राख्न सकिन्छ। यो मौसममा विशेष सावधानी अपनाउँदै आफ्नो र परिवारको स्वास्थ्यलाई सुरक्षित राख्न सबैले ध्यान दिनुपर्छ।