वैदेशिक रोजगार: ६ वर्षमा काभ्रेका ८७ ले ज्यान गुमाए

धुलिखेल/ वैदेशिक रोजगारमा गएका नागरिकहरुले विभिन्न कारण ज्यान गुमाउने गरेका छन् । पछिल्लो ६ वर्षको अवधीमा नेपालबाट विभिन्न मुलुकमा कामका लागि गएका ६ हजार ६ सय २५ जनाले ज्यान गुमाएका छन् । यो अवधीमा करिव ३० लाख नागरिक विदेश गएका छन् । बागमती प्रदेशमा ८ सय ३३ जनाले ज्यान गुमाएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा यो अवधीमा ८७ जनाले ज्यान गुमाएका छन् । ३१ जनाको अंगभंग भएको छ । १ सय ३३ जना विरामी भएर फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा राहदानी बनाउनेहरुको संख्या आर्थिक वर्ष २०८०/२०८१ मा १७ हजार ९ सय ३ पुगेको छ । आधा भन्दा धेरै नागरिक बैदेशिक रोजगारीमा गएका छन् । ४० प्रतिशत नागरिक अध्ययनका नाममा विदेशिएका छन् । केहि आन्तरिक भ्रमण तथा सन्तानसँग विदेश गएर फर्किने खालका छन् । काभ्रेपलाञ्चोक जिल्लाबाट श्रम स्वीकृति लिनेहरुको संख्या ५ हजार ७ सय ३३ रहेको छ । जसमा ४ हजार १ सय ९४ पुरुष र १ हजार ५ सय ३९ महिला छन् । दुई देशको सरकारको सम्झौता मार्फत विदेश जानेहरुको संख्या २ हजार १ सय ७५ रहेको छ । जसमा महिला ७ सय ५ र पुरुष १ हजार ४ सय ७० रहेका छन् । आर्थिक वर्ष २०८०/२०८१ मा काभ्रेपलाञ्चोक जिल्लाबाट विदेश गएका नागरिकहरुको संख्या ११ हजार ८ सय ३७ रहेको छ ।
धुलिखेल नगरपालिकाबाट विदेशमा रहेका परिवारका सदस्य घरधुरी संख्या १८ सय ५८ रहेको छ । जसबाट २७ सय ४२ जना विदेशमा छन् । मनोसामाजिक परामर्श कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु गरिएको छ । नेपालबाट बैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढिरहेको छ । श्रमका लागि विदेशिनेहरुबाट आर्थिक वर्ष २०८०/२०८१ मा बिप्रेषण आप्रवाह १६.५ प्रतिशतले बृद्धि भई १४ खर्व ४५ अर्व ३२ करोड (२५.३३ प्रतिशत कुल जिडिपिमा मा हिस्सा) पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १८.४१ प्रतिशतले धेरै हो । हरेक वर्ष विप्रेषणमा बृद्धि भएको छ । आर्थिक वर्ष २०७६/२०७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड विप्रषण रहेको नेपालमा आर्थिक वर्ष २०७७/२०७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड पुग्यो । पछिल्लो वर्ष २०७८/२०७९ मा १० खर्ब ७ अर्ब ३१ करोड पुग्यो । आर्थिक वर्ष २०७९/२०८० मा १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो । बैदेशिक रोजगार विभागका अनुसार आार्थिक वर्ष २०८०/२०८१ मा बैदेशिक रोजगारमा जाने प्रयोजनका लागि ७ लाख ४१ हजार २ सय ७ जनाले श्रम स्वीकृति लिएका छन् । यो पुनः प्रदान गरिएको श्रम स्वीकृति समेतको संख्या हो । श्रम स्वीकृति लिनेहरु मध्ये महिला ८० हजार १ सय ७२ (१०.८१ प्रतिशत) र पुरूष ६ लाख ६१ हजार १ सय २५ (८९.१९ प्रतिशत) रहेका छन् । बैदेशिक रोजगारीमा गई मृत्यु भएका कामदारका हकवालालाई अर्थिक सहायता प्रदान गरिएको छ । जसमध्ये पुरूष १ हजार ३ सय ५ र महिला ४१ जना गरी १ हजार ३ सय ४६ जना छन् ।

बिरामी एवं अंगभंग भएका कामदारलाई स्वास्थ्य उपचार खर्च ६ सय ५३ जनालाई भुक्तानी भएको छ । जसमा पुरूष ६१७ र महिला ३६ जना छन् । विदेशमा गएकाहरु मध्ये एक वर्षमा १३ सय ४६ जनाले ज्यान गुमाएका छन् । ६ सय १० जना अंगभंग भएर फर्किएका छन् । अघिल्लो वर्ष १ हजार ६२ जनाको ज्यान गएको थियो भने ३ सय ३५ जनाको अंगभंग भएको थियो । बैदेशिक रोजगारमा जानेहरुको संख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष कम हो । २०७९/२०८० मा ७ लाख ७१ हजार ३ सय २७ जना विदेश गएका थिए । २०७८/२०७९ मा ६ लाख ३० हजार ९० जना विदेश गएका थिए । विदेश जाने मध्ये आर्थिक वर्ष २०८०/२०८१ मा १ सय ७८ जना बागमती प्रदेशका नागरिकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ जना नागरिक रहेका छन् । ६ जनाको अंगभंग भएको छ । अघिल्लो वर्ष बागमती प्रदेशका १२५ जनाले ज्यान गुमाएका थिए भने काभ्रेपलाञ्चोक जिल्लाबाट २४ जनाले ज्यान गुमाएका थिए । १० जनाको अंगभग भएको थियो

काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७६/२०७७ बाट सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लागू भएको छ । स्थानीय तहहरु धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका र रोशी गाउँपालिका र स्थानीय सेवा प्रदायक संस्था सिविक फोरम बीच २०७६ पौष ९ गते सेवा सम्झौता भई कार्यक्रमको क्रियाकलापहरु कार्यान्वयन सुरूवात भएको कार्यक्रम संयोजक बसन्त कुँवरले बताए । उक्त कार्यक्रम मार्फत विभिन्न कार्यक्रम संचालन भईरहेका छन् । जसका कारण बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि, गएकाहरुका लागि र फर्किएकाहरुका लागि अलग अलग कार्यक्रम संचालन गरिएको छ ।