कांग्रेस नेताहरूले ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन्ः वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारसँग नेपाली कांग्रेसका नेताहरूले वर्तमान एमाले नेतृत्वको सरकार फेर्न प्रस्ताव ल्याएको दाबी गरेका छन्।
रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए।
पूर्वअर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने पनि स्पष्ट पारे। कांग्रेस र एमालेभन्दा फरक देखिन पनि माओवादी सरकारबाहिर बस्नुपर्ने उनको तर्क थियो। माओवादीले राम्रो काम गरेकै कारण सहरी क्षेत्रमा समर्थन बढ्दै गएको जिकिर पनि उनले गरे।
श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनको दाबी थियो। सरकारका कारण कुनै पनि बेला बंगलादेशको अवस्था आउने खतरा रहेको उनले टिप्पणी गरे।