गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षण पत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीय गाउँ तथा नगरपालिका र जिल्ला सम्बद्ध सङ्घ तथा महासङ्घले सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनसहितका ‘एजेन्डा’ मा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को बैठक बस्नुपर्नेलगायत विषयवस्तुलाई ध्यानाकर्षण पत्रमा समेटिएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक २०८० माघ महिनापछि बस्न सकेको छैन । अघिल्लो बैठकमा पेश भई निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने ध्यानाकर्षणपत्रमा माग गरिएको छ ।

त्यसैगरी समानीकरण अनुदान कटौती नगर्न, पालिका अर्थात् स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आकार वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोत–साधन सम्पन्न बनाउन पनि आग्रह गरिएको छ ।

प्रधानमन्त्री ओलीले संविधानबमोजिम पालिकालाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।