सम्बृद्धि साकोसको १६ औं वार्षिक साधारण सभा

श्री सम्बृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, काभ्रेपलाञ्चोक बचत संघका उपाध्यक्ष सागरनाथ कपाली, अर्जुन सापकोटा लगायत विभिन्न सहकारीका अध्यक्ष एवं प्रतिनिधि, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सम्वृद्धि साकोसका अध्यक्ष साधुराम दाहालले सहकारीको मुल्य मान्यतालाई उच्च प्राथमिकतामा राख्दै सामुहिक हितका लागि काम गर्दै आइरहेको बताए । आफुमा निहित शीप र क्षमतालाई व्यवसायीक बनाउँदै आर्थिक क्रियाकलापसँग जोड्न संस्थाले महत्वपुर्ण भूमिका खेलेको अध्यक्ष दाहालले बताए । संस्थाले प्रविधिमैत्री आर्थिक क्रियाकलापमा जोड दिएको पनि उनले जानकारी दिए ।

बागमती प्रस्कुनका अध्यक्ष सापकोटाले सहकारीहरु सहकारीको मुल्य र मान्यता अनूरुप सञ्चालन हुनुपर्नेमा जोड दिए । केहि सहकारीले गल्ती गर्दा त्यसको मारमा राम्रा सहकारी पनि परेको भन्दै अनुगमन गरी गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाई छ । समुदाय र शेयर सदस्य केन्द्रित सहकारीमा कुनै समस्या नआएको उनले बताए ।

वडा अध्यक्ष अधिकारीले सहकारीसँगै हातेमालो गर्न स्थानीय सरकार तयार रहेको बताए । पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले १/२ वर्षमा नै सहकारी हराउन थालेको भन्दै सम्बृद्धि साकोसको सुनौलो यात्रा अझै सफल हुने विश्वास व्यक्त गरेका छन् ।
सम्बृद्धि साकोसमा १ हजार ९५ जना शेयर सदस्य आवद्ध छन् । संस्थाको वासलात २३ करोड ३५ लाख २५ हजार५ सय १२ रुपैयाँ रहेको छ भने शेयर पुँजी २ करोड ८३ लाख ९६ हजार रहेको छ । यस्तै ५ करोड १ लाख ४१ हजार ८ सय ९८ रुपैयाँको जगेडा कोष रहेको अध्यक्ष दाहालले सभामा जानकारी गराएका छन् ।

संस्थाले गत आर्थिक वर्षमा नाफा आर्जन गरी शेयर सदस्यलाई १५ प्रतिशतका दरले लाभांश प्रदान गरेको छ । साधारण सभामा संस्थाका उपाध्यक्ष रेवति प्रसाद दाहालले उपाध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन सचिव पुष्पराज कोइरालाले, लेखा समितिको प्रतिवेदन संयोजक श्यामकुमार दाहालले प्रस्तुत गरेका थिए ।