विपत्तिले पनौतीमा गराएको क्षतिको पूर्ण विवरणः ५८६ घर पूर्ण क्षति, ९४४ वटा उच्च जोखिममा
विकास तिमल्सिना
पनौती
असोज १०–१२ गते परेको अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा २० जनाको निधन भएको छ । १ जना विदेशी नागरिक पुरिए । १ जना अझै बेपत्ता छन् । १९ जनाको शव परिवारले बुझिसकेको छ । नागरिकको मृत्युसँगै ५ सय ८६ वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने ९ सय ४४ वटा घर उच्च जोखिममा छन् ।
पनौती नगरपालिकाको १६ औ नगर सभामा प्रस्तुत प्रतिवेदन अनुसार नगरपालिकाका १२ वटा वडा मध्ये सबै भन्दा धेरै क्षति वडा नम्वर १२ मा देखिएको छ । वडा नम्वर १२ मा १ सय ८७ घर पूर्ण क्षति भए भने १ सय ९१ वटा घरउच्च जोखिममा छन् । वडा नम्वर ११ मा १ सय ६१ वटा घर पूर्ण क्षति भए भने २ सय १७ वटा घर उच्च जोखिममा छन् । वडा नम्वर १ मा ४४, वडा नम्वर २ मा ६९, वडा नम्वर ३ मा ३१ वटा, वडा नम्वर ४ मा ११, वडा नम्वर ६ मा २, वडा नम्वर ७ मा ३९ वटा, वडा नम्वर ८ मा २२ वटा, वडा नम्वर ९ मा ३ वटा, वडा नम्वर १० मा १७ वटा घर पूर्ण क्षति भएका छन् ।
विपत्तिका कारण २० हजार ८ सय ४६ मिटर कच्चि सडकमा क्षति पुगेको छ । १६ सय ४० मिटरमा आंशिक क्षति पुगेको छ । ११ हजार ७ सय ८६ मिटर पक्कि सडक क्षति भएको छ । ३५ सय २८ मिटर पक्कि सडकमा आंशिक क्षति पुगेको छ । रिटेनिङ्ग वाल प्लम ९७५ मिटर, ढुंङ्गा ४६ सय ७२ मिटर, ग्याविङ्ग ६६९७ मिटर पूर्ण क्षति भएको छ ।
ड्रेन प्लम ८८ सय ५३ मिटर, ढुंगा २२ सय २३ मिटर र आरसीसी १७ सय ७० मिटर क्षति भएको छ । सिंचाई कुलो २८ हजार ५ सय ७४ मिटर, पाईप ३९ सय ४० मिटर क्षति पुगेको छ । खानेपानीमा ८९ हजार ६ सय ९० मिटर पाईप, ६५ वटा इन्टेक, २५ वटा ट्याङ्गी र ३ वटा पम्पमा क्षति पुगेको छ । ४४४ मिटर विङ्ग वाल, १४ वटा पुल, १२ वटा कल्र्भट क्षति भएका छन् भने २२ वटा सरकारी भवन र ११ वटा सार्वजनिक भवनमा क्षति पुगेको छ ।
कृषि तर्फ प्रभावित घरधुरी संख्या ३४ सय ८७ रहेको छ । १८ सय ३३ रोपनी क्षेत्रफलमा रहेको धानमा क्षति भएको छ । जसबाट १ करोड ३४ लाख ५२ हजार रुपैया क्षति भएको छ । २१ सय ७५ रोपनी १२ आना क्षेत्रफलमा रोपिएको आलु नस्ट भएको छ । जसबाट १० करोड ९० लाख ९२ हजार रुपैया क्षति भएको छ । २ सय ११ रोपनी ९ आना क्षेत्रफलमा रोपिएको मकैमा क्षति भएको छ ।
४ करोड ७ लाख ९० हजार रुपैया बराबरको क्षति भएको छ । तरकारीमा ४ करोड ३७ लाख, ९३ लाख ८६ हजार, फलफुल १ करोड ७८ लाख ९७ हजार, अन्य बाली २१ लाख २७ हजार र बालीमा २३ करोड ६४ लाख ४४ हजार रुपैया क्षति भएको छ । टनेल, च्याउघर, कृषि यन्त्र र उपकरण बराबरको १ करोड रुपैया बराबरको क्षति भएको छ ।
पुशधन तर्फ ८० वटा गाई, वाच्छा बाच्छी ४ वटा, भैसी ८५ वटा, ३ वटा पाडापाडी, ३ सय ४३ वटा बाख्रा पुरिएका छन् । ९८ सय ६८ वटा कुखुरा, ६० वटा बंगुर र ५२५ वटा हाँस मरेका छन् । ८ हजार ६३ केजी ट्राउट र ५ वटा कर्प माछा मरेका छन् ।