एचआईभी एड्सका क्षेत्रमा सक्रिय प्लसका आठ वर्ष
धुलिखेल/एचआईभी एड्स संक्रमित ब्यक्तिहरुको अधिकारका लागि निरन्तर कृयाशिल सक्रिय प्लस नेपालले काभ्रेपलाञ्चोक जिल्लामा सेप्टेम्वर २०१६ देखि संचालन गरेको कार्यक्रमका बारेमा जानकारी गराएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष अमिर खड्काले २०१६ देखि २०२४ सम्म एचआईभी एड्स संक्रमितहरुको क्षेत्रमा भएका कार्यहरु, समस्या तथा अधिकारका क्षेत्रमा कृयाशिल हुँदा भोगेका भोगाईहरुका बारेमा जानकारी गराएका थिए । काभ्रेपलाञ्चोक जिल्लामा सुचिकृत भएका १ सय ८६ संक्रमितहरु मध्ये अहिले धुलिखेल अस्पतालबाट १ सय जनाले मासिक रुपमा नियमित सेवा लिईरहेका छन् ।
५ वर्षकी बालिका देखि ७५ वर्षका जेष्ठ नागरिकसम्म एचआईभी संक्रमितको सूचीमा छन् । ग्लोबल फण्ड मार्फत सेभ द चिल्ड्रेनको सहकार्यमा संचालन भएको उक्त कार्यक्रम अब युएनडिपी मार्फत संचालन हुनेछ । तर जिल्लाका हकमा कसरी कार्यक्रम संचालन हुन्छ भन्ने निक्र्याेल नभएको अध्यक्ष खड्काले जानकारी दिए ।
संक्रमितहरु मध्ये केहिले जिल्ला जिल्लामा रहेका अस्पतालबाट सेवा लिन थालेका छन् । सरकारले बीमा कार्यक्रम मार्फत एचआईभी एड्स संक्रमितहरुका लागि निशुल्क उपचार सेवाको ब्यवस्था गरेको छ ।
जिल्ला समन्वय बैठकमा जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सकिए पनि जिल्लामा रहेका सरोकारवाला निकायहरुले एचआईभी एड्सका क्षेत्रमा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने र उनिहरुलाई सहयोग, समन्वय तथा आवश्यक सहजिकरणका लागि निरन्तर सम्पर्कमा रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
अभियानमा सक्रिय प्लसका अध्यक्ष अमिर खड्का निरन्तर सक्रिय छन् । कोभिड महामारीका समयमा पनि अध्यक्ष खड्काले संक्रमितहरुलाई घर घर औषधी लगायतका सेवा उपलब्ध गराएका थिए ।