भुम्लुमा गुम्बाको रकम किर्ते गरी निकाल्ने अध्यक्ष र कोषाध्यक्ष दोषि ठहर, तीन वर्ष भन्दा धेरै कैद हुने
धुलिखेल/होदसल घोङाग छोईलिङ्ग तामसालिङ गुम्बा निमार्ण उपभोक्ता समितिका सचिव अमृतकुमार लामा र कोषाध्यक्ष अनिता गुरुङको अनुपस्थितिमा बैठक बसी सचिव अमृतकुमार लामाको स्थानमा अनिता गुरुङलाई सचिव र कोषाध्यक्ष अनिता गुरुङको स्थानमा तुलसीमान तामाङलाई राख्ने निर्णयमा हस्ताक्षर किर्ते गरेको अभियोगमा अध्यक्ष डुक्मा दोर्जे लामा र तुलसीमान तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले कसुर ठहर गरेको छ ।
३ वर्ष भन्दा धेरै सजायँ र ३० हजार भन्दा धेरै जरिवना हुने मुद्दाका हकमा कसुर पछि निर्धारण हुनेछ । अदालतले अर्काे पेशी तोकेर सजायँ निर्धारण गर्नेछ । जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले २०८० बैशाख ५ गते दर्ता भएको लिखत सम्वन्धी कसुरमा अमृतकुमार लामाको जाहेरीका आधारमा कसुर ठहर भएकाले सजाय निर्धारणका लागि पेश गर्ने आदेश गरेको छ । लिखत कसुर सम्वन्धी भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेल विरुद्ध समेत किटानी जाहेरी दर्ता भएको थियो । तर गाउँपालिका अध्यक्ष समेत रहेका प्रेम भुजेललाई सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । गाउँपालिकाले वडा नम्वर ५ का अध्यक्ष अञ्चलकुमार लामाको अध्यक्षतामा वडा नम्वर ४ का अध्यक्ष लोकबहादुर कुँवर र वडा नम्बर ६ का अध्यक्ष भरतबहादुर शिवभक्ति सदस्य रहेको छानविन समिति गठन गरेको थियो । उक्त समितिले पनि समितिका अध्यक्ष डुम्मा दोर्जे लामा र कोषाध्यक्ष राखिएका तुलसीमान तामाङले अमृतकुमार लामा र अनिता गुरुङको हस्ताक्षर किर्ते गरी राष्ट्रिय बाणिज्य बैक धुलिखेलमा रहेको खाता परिवर्तन गरी खातामा भएको रकम निकालेका थिए । किर्ते माईन्युुटमा हस्ताक्षर गरी रकम निकाल्ने प्रयोजनका लागि खाता परिवर्तन गर्न गाउँपालिका अध्यक्ष भुजेल आफैले सिफारिस गरेका थिए । गुम्बाका नाममा रहेको ५ लाख ४ हजार रकम किर्ते गरेर निकालिएको थियो ।
भुम्लु गाउँपालिका वडा नम्वर ५ मा रहेको होदसल घोङाग छोईलिङ्ग तामसालिङ्ग गुम्बा भुकम्पबाट प्रभावित गुम्बा विहार पुन निर्माणका लागि भुकम्प प्रभावित गुम्वा, विहार, स्तुपहरुको संरक्षण जिर्णाेद्धार तथा पुनर्निमाण सम्वन्धी कार्यविधि २०७५ को दफा ८ को उपदफा (क) मा उल्लेख भए बमोजिम जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोक) ले भुम्लु गाउँपालिका नाम पत्र २०७७ असोज २ गते गुम्बा निर्माणका लागी उपभोक्ता समिति गठन गरी जानकारी गराउन भनिएको थियो । २०७७ असोज ८ गते डुक्मा दोर्जे लामा अध्यक्ष, अमृतकुमार लामा सचिव, अनिता गुरुङ कोषाध्यक्ष, मठरामा लामा, शर्मिला तामाङ, मनमाया तामाङ, शेरबहादुर तामाङ सदस्य रहेको ७ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा विनियोजन भएको रकम आफुखुशी खर्च गर्ने गरी डुक्मा दोर्जे लामा अध्यक्ष, अमृतकुमार लामा सचिव, अनिता गुरुङ कोषाध्यक्षको संयुक्त दस्तखतमा खाता संचालन गर्ने निर्णय भएको थियो । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर किर्ते भएको प्रमाणीत भएको थियो ।