प्याब्सन काभ्रेको १५ औं अधिवेशन, निर्वाचनबाट अध्यक्षमा श्याम र सचिवमा विमल निर्वाचित, अन्य पद सर्वसम्वत
होमप्रसाद चौंलागाँई
धुलिखेल
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्शन) काभ्रेको १५ औं जिल्ला अधिवेशन धुलिखेल स्थित धुलिखेल लज रिसोर्टमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा श्याम बहादुर भुजेल, वरिष्ठ उपाध्यक्षमा सुजेन्द्र श्रेष्ठ, उपाध्यक्षमा बसन्त नेपाल, सचिवमा बिमल न्यौपाने, कोषाध्यक्षमा अर्जुन थापा, सह सचिवमा डि बि ऐडी, सह कोषाध्यक्षमा कृष्ण सुन्दर थापा र सदस्यहरुमा चन्द्रप्रसाद ताजकुरिया निर्वाचित भएका छन् । अध्यक्ष र सचिवसहितको २ पदमा निर्वाचन भए पनि बाँकी पदहरु सर्वसम्मत भएको थियो ।
प्याब्शनको विधान अनुसार जिल्लास्थित विभिन्न पालिकाका अध्यक्ष तथा फोकल पर्सनहरु संस्थाको पदेन सदस्य रहने प्रावधान भएकाले बनेपा, धुलिखेल, पनौती, नमोवुद्ध, पाँचखाल, भुम्लु, रोशी लगायतका पालिकाका प्याबशन प्रमुखहरु जिल्ला प्याब्शनको पदेन सदस्य हुनेछन् । हिजो पूर्ती हुन नसकेको केहि पदहरुमा मनोनयनमार्फत कमटिलाई पूर्णता दिने नव निर्वाचित सचिव बिमल न्यौपानेले बताए ।
प्याब्शन काभ्रेमा सूचिकृत ७१ विद्यालयहरुमध्ये ६७ मताधिकारमा रहेका र यसमध्येको १ मत अनुपस्थित हुन पुगी ६६ मत खसेको थियो । जसमध्ये अध्यक्षमा निर्वाचित श्यामबहादुर भुजेलले ३८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी महेन्द्रबहादुर थिङले २८ मत प्राप्त गरेका थिए । सचिवमा निर्वाचित बिमल न्यौपानेले ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी छविरमण पराजुलीले २५ मत पाएका थिए । अध्यक्षमा बिजयी भुजेल यस अघिका पनि अध्यक्ष हुन् भने सचिवमा पराजित छविरमण यस अघिका जिल्ला सचिव ।
प्याब्शन केन्द्रका अध्यक्ष डि.के. ढुंगानाको स्वास्थ्य समस्याको कारण उहाँको प्रमुख आतिथ्यतामा तय भएको कार्यक्रम उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्ञ्याजु, प्याबशन केन्द्रका महासचिव आर.बी. कटुवाल, उप महासचिव भुवनलाल श्रेष्ठ र भिमसेन क.सी., सचिव हिरा शर्मा नेपाल, वागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, वरिष्ठ उपाध्ययक्ष मुरारी सञ्जेलको विशेष आतिथ्यतामा सम्पनन भएको थियो । केन्द्रिय प्याब्शन, वागमती प्याब्शन लगायत छिमेकी जिल्ला प्याब्शनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उद्घाटन सत्र संस्थाका जिल्ला अध्यक्ष श्यामबहादुर भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न विधिाको सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । जिल्लास्थित सबै संस्थागत विद्यालयलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको कार्यक्रममा १५ औं वार्षिक साधारण सभा सम्मको विभिन्न समयमा जिल्ला समितिको कार्यकालपूरा गरेका पदाधिकारी सहित सम्पूर्णको सम्मान गरिएको कार्यक्रममा आर्थिक तथा संस्थाको प्रगति प्रतिवेदनहरु पेश गरिएको थियो ।