काभ्रेपलाञ्चोक जिल्लाका १५ हजार ९ सय ३५ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने तयारी

प्रतिकात्मक तस्बिर
२०८१ माघ २२ देखि फागुन ६ गतेसम्म जिल्लाका विद्यालय भित्रका कक्षा ६ देखि १० कक्षा अध्ययन गर्ने १५ हजार ६ सय ८६ छात्रा र विद्यालय बााहिरका १० देखि १४ वर्ष उमेर समुहका २ सय ४९ जनालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईदैछ ।
मोतीराम तिमल्सिना
धुलिखेल
राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने भाईरस विरुद्धको एच.पि.भी. खोप सेवा संचालनका लागि काभ्रेपलाञ्चोक जिल्लाको तयारी अन्तिम चरणमा पुगेको छ । यो खोप अभियान २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म देशभरी एकै पटक संचालन हुनेछ ।
जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपतिले राष्ट्रिय अभियान सफल बनाउन स्थानीय तहसँगको समन्वयमा तथ्यांक संकलन लगायतका कार्यहरु पुरा भएका छन् । केन्द्रीय कार्यक्रम अनुसार थप कार्यक्रम संचालन गर्ने तयारी गरिएको कक्षपतिले बताईन् । खोप अधिकृत पार्थमणि न्यौपानेले आवश्यक तयारी पुरा भएको बताए । काभ्रेपलाञ्चोक जिल्लामा सामुदायिक २ सय ५२ र नीजि ८४ वटा विद्यालयका १५ हजार ६ सय ८६ जना र विद्यालय बाहिर रहेका २ सय ४९ जना गरी कुल १५ हजार ९ सय ३५ जनालाई उक्त खोप लगाउने तयारी गरिएको छ । विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका २ सय ४९ किशोरीहरु छन् । विद्यालय बाहिर रहेका किशोरीहरुको संख्या बनेपामा धेरै छ । बनेपामा १ सय २० जना उक्त उमेर समुहका किशोरीहरु विद्यालय बाहिर छन् । धुलिखेल र रोशीमा उक्त समुहका कोहि पनि किशोरीहरु विद्यालय बाहिर छैनन । महाभारतमा १, भुम्लु र चौरीदेउरालीमा २÷२ जना, नमोबुद्धमा ५ जना, पनौतीमा १६ जना, पाँचखालमा १४ जना, मण्डनदेउपुरमा १२ जना, खानीखोलामा २१ जना, तेमालमा ११ जना र बेथान्चोक गाउँपालिकामा ४५ जना रहेका छन् ।
तथ्यांक अनुसार कक्षा ६ मा अध्ययन गर्ने ३ हजार ८ सय ६६, कक्षा ७ का ३ हजार ३३, कक्षा ८ मा ३ हजार १, कक्षा ९ का २ हजार ९ सय ८७ र कक्षा १० का २ हजार ७ सय ९९ जना गरी विद्यालय तहमा १५ हजार ६ सय ८६ जनालाई खोप लगाईनेछ । पालिका अनुसार धुलिखेलमा २५ वटा विद्यालयका १ हजार २ सय ९, नमोबुद्धमा २४ विद्यालयका ८ सय ८८, पनौतीमा ५५ विद्यालयका २ हजार ४ सय ५१, पाँचखालमा २८ विद्यालयका १ हजार ५ सय ८ जनाले खोप लगाउने छन् । त्यस्तै बनेपामा ५२ विद्यालयका ३ हजार ९ सय ७८ जना, मण्डनदेउपुरमा २१ विद्यालयका ९ सय ७८ जना, खानीखोलामा १० वटा विद्यालयका ६ सय ४६ जना, चौरीदेउरालीमा २० वटा विद्यालयका ४ सय ४७ जना, तेमालमा १९ विद्यालयका ४ सय ४४ जना, बेथान्चोकमा १४ विद्यालयका ५ सय ७८ जनाले खोप लगाउने छन् । त्यस्तै भुम्लुमा २५ विद्यालयका ५ सय २७ जना, महाभारतमा १९ विद्यालयका ८ सय ९१ जना र रोशी गाउँपालिकामा २४ विद्यालयका १ हजार १ सय ४१ जना छात्राहरुले खोप लगाउनेछन् ।
के हो खोप ? के हुन्छ असर ?
एच.पि.भी. को संक्रमणबाट सुरक्षित हुन १० वर्ष देखि १४ वर्ष उमेर समुहका किशोरीहरुका लागि यो खोप उपलब्ध गराईनेछ । नेपाल सरकारले विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको उक्त खोपबाट एच.पि.भी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित बनाउँछ । यो खोपको एक मात्रा ०.५ मिलि मात्रै हुन्छ । खोप सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागमा मासुभित्र दिईन्छ । विगतमा यो खोप लगाएका किशोरीहरुले अर्काे मात्रा लगाउनु आवश्यक छैन । खोप लगाए पछि सुई लगाएको स्थानमा दुख्ने, सुन्निने, रातो हुने जस्ता सामान्य असर देखिन सक्छन भने ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा चल्ने र मासपेशी समेत दुखेर थकाई समेत लाग्न सक्छ । पेट दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता लक्षण देखिन सक्छन् । लक्षित उमेर समुह बाहेकका, गर्भवती महिला, पहिला कुनै खोप लगाउँदा एलर्जी भएका ब्यक्तिहरुका लागि यो खोप लगाईदैन ।
कसरी लगाउने खोप ?
देशभर रहेका १६ लाख ८८ हजार ७ सय ६८ जना कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यालय भित्र र बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका किशोरीहरुका लागि उक्त खोप लगाईन्छ । विद्यालय विद्यालयमा नै खोप केन्द्र संचालन हुनेछ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराईनेछ । हरेक ब्यक्तिलाई खोप लगाई सकेपछि खोप कार्ड उपलब्ध गराईनेछ । हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका विद्यालयमा रहेका बालबालिकाहरुको तथ्यांक प्रविष्ट गर्नेछन् ।
यो खोप २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म देशभरी एकै पटक संचालन हुनेछ । खोप संचालन गर्ने मिति विद्यालयसँग समन्वय गरेर स्थानीय तहले बढिमा ७ दिन भित्र आफ्नो पालिका भित्र खोप लगाई सक्नु पर्नेछ । जिल्लामा १५ दिन भित्र यो अभियान सम्पन्न हुनेछ । खोप अभियान संचालनको पुर्व तयारी, खोप समन्वय समितिहरुको गठन र संचालन, संघ, प्रदेश र स्थानीय तहमा अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी, सरोकारवाला निकायका प्रतिनिधी, संचारकर्मीहरुलाई समेत अभिमुखीकरण गरी एच.पि.भी खोप अभियान र त्यसका महत्वका बारेमा जानकारी गराईनेछ ।
स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वंसेविका र अन्य स्वंयसेवकहरु, स्थानीय तहका वडा अध्यक्ष वा प्रतिनिधी, विद्यालय नर्स वा शिक्षक प्रतिनिधि र स्थानीय स्वास्थ्य संस्थाका प्रमुखहरुका लागि अभिमुखिकरण सहितको बैठक बस्नेछ । वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरु सहितको संलग्नतामा विद्यालय नर्स वा शिक्षिका प्रतिनिधि, स्वास्थ्य संस्था प्रमुख लगायत सरोकारवालाहरु सहभागि हुनेछन् । प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी सहित दुई जना स्वंयसेवक परिचालन हुनेछन् । एक जनाले एक दिनमा २ सय जनासम्म छात्रालाई खोप लगाउने छन् ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको हकमा विद्यालयले उपलब्ध गराएको परिचयपत्र र विद्यालय बाहिर रहेका किशोरीहरुको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाईनेछ । नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । हरेक वर्ष सोहि कारण १ हजार ३ सय १३ जना औषतमा प्रत्येक दिन ४ जना नेपाली महिलाहरुको निधन हुने गरेको छ । यो रोग विरुद्धको खोप लगाएमा एच.पि.भी भाईरसको संक्रमणबाट सुरक्षित रहन सकिन्छ । प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुनेछ । यो रोग यौनसम्पर्कका माध्यमबाट अर्काे ब्यक्तिमा सर्ने गर्छ । मानव शरिरमा क्यान्सर गराउने उच्च जोखिम भएका एच.पि.भी भाईरसको पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।
तल्लो पेट दुख्ने, योनिबाट गन्हाउने पानी आउने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, कमजोर महसुस हुने, रक्तअल्पता लगायतका लक्षणहरु पाठेघरको मुखको क्यान्सरका लक्षण हुन् । यसलाई प्राथमिक तहको रोकथाम र दोश्रो तहको रोकथाम गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा निदान भयो भने उपचार गरेर निको हुन सक्छ । तेश्रो तहको विधिबाट पनि पाठेघरको मुखको क्यान्सरको निदान भएका महिलाहरुको उपचार गरिन्छ ।