बाघले मार्‍यो सात वटा खसी–बाख्रा

मकवानपुरको मनहरीमा बाघले सातवटा खसी–बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नं. ५ वसन्तपुरस्थित स्थानीय सूर्यबहादुर मोक्तानले पाल्नुभएको खसी बाख्रा सोमबार बिहान ५ बजेको समयमा बाघले मारेको हो ।

मोक्तानको घर नजिकै रहेको बाख्राको खोरमा सातवटा खसी बाख्रा मारी सोही मध्ये एउटा वटा बाख्रा बाघले जङ्गलतर्फ लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मनहरी गाउँपालिका वडा ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले प्रहरी कार्यालयमा जानकारी गराएसँगै प्रहरी नायव निरीक्षक दिलीप पासवानको कमान्डमा प्रहरी सो स्थानमा पुगेको छ ।

हिजो आइतबार साँझ मनहरी–५ मा बाघको आक्रमणबाट वसन्तपुरकी कान्छीमाया रुम्बाको मृत्यु भएको थियो । घर नजिकै बारीमा घाँस काट्न गएको अवस्थामा ७२ वर्षीया रुम्बालाई बाघले आक्रमण गरेपछि उहाँको मृत्यु भएको हो ।

घाँस काट्न जानुभएको रुम्बा घर नर्फिएपछि खोजी गर्ने क्रममा बाघले वृद्धा रुम्बाको शरीर बोकेर हिँडेको गाउँलेले देखेका थिए ।

बाघलाई नियन्त्रणमा लिनका लागि पर्सा वन्यजन्तु आरक्षणबाट दुई वटा हात्ती, नेपाली सेनाका मेजर ढलकबहादुर मोक्तान र चितवन राष्ट्रिय निकुञ्जबाट टोली खटिएको छ ।