रासायनिक विषादी तथा मानव स्वास्थ्य सम्बन्धी कार्यशाला गोष्ठी
धुलिखेल/सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछाप जिल्लामा ट्रायांगल जेनेरेशन ह्युम्यानिटेरी र मेड्सा डु मोण्डको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसानले कार्यान्वयन गरिरहेको प्राङ्गारिक (दिगो) र सुरक्षित खाद्यान्न उत्पादन प्रणालीको विकास परियोजना अन्तर्गतका कार्यान्वयन क्षेत्रका स्वास्थ्यकर्मी र कृषि प्राविधिकहरूलाई लक्षित गर्दै रासायनिक विषादी तथा जनस्वास्थ्यमा पर्ने असर सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यशालाको उद्देश्य रासायनिक विषादीको प्रयोगले कृषकहरुको स्वास्थ्य,जनस्वास्थ्य तथा वातावरणमा पर्ने असरबारे जानकारी (प्रदान गर्नु, यसको सुरक्षित प्रयोगका उपायहरूबारे सचेतना जगाउनु, जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ बारे छलफल, विष लागेको लक्षण र प्राथमिक उपचार सम्बन्धि जानकारी, जीवनाशक विषादी व्यवस्थापन नियमावली, वैकल्पिक तथा जैविक विधिहरूको प्रयोगलाई प्रोत्साहन गर्नु रहेको थियो। गोष्ठीमा सहभागीहरूले विषादीको अत्यधिक प्रयोगका कारण उत्पन्न हुने स्वास्थ्य समस्या जस्तै श्वासप्रश्वासको कठिनाइ, छाला रोग, क्यान्सरको जोखिम तथा वातावरणीय प्रदूषणका विषयमा छलफल गरेका थिए। साथै, विषादीको प्रभावलाई न्यून गर्न जैविक खेती र प्राकृतिक कीटनाशकहरूको प्रयोगको सम्भावनाबारे व्यावहारिक ज्ञान आदानप्रदान गरिएको थियो।
कार्यक्रममा उपस्थिति भएका कृषि र स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले रासायनिक विषादी न्यूनीकरण तथा व्यवस्थापन, र कृषकहरुको पेशागत स्वास्थ्य तथा सुरक्षा र जनस्वास्थ्यमा पर्ने दीर्घकालीन प्रभावका विषयमा छलफल गरेर कार्ययोजनाको प्रस्तुतीकरण गरेका थिए। सहभागीहरूले आफूले सिकेका ज्ञान र सीपलाई आफ्ना कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यशालामा परियोजना अन्तर्गतका काभ्रेपलान्चोक, रामेछाप र सिन्धुपाल्चोक जनस्वास्थ्य कार्यालयहरु, जिल्ला अस्पतालहरु साथै रामेछाप, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका चार स्थानीय तह लिखु तामाकोशी गाउँपालिका, थाङ्पाल गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र धुलिखेल नगरपालिकाका स्वास्थ्यकर्मी, सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखप्रतिनिधिहरु, कृषि शाखाका प्रमुखहरु, परियोजना कर्मचारीहरुको उपस्थित रहेको थियो । उक्त कार्यशाला गोष्ठीलाई प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र, कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा स्वास्थ्य तालिम केन्द्र बागमती प्रदेशबाट सहजीकरण गरिएको थियो ।
यो कार्यशाला एसएफभीसीपरियोजनाले स्थानीय कृषकहरुको पेशागत स्वास्थ्य तथा सुरक्षा प्रर्वद्धन गर्न, उनीहरुलाई व्यवहार परिवर्तनका लागि स्वास्थ्य शिक्षा प्रदान गर्न, रासायनिक विषादी न्यूनीकरण गर्न तथा दिगो कृषि प्रणालीको विकास गर्न गरेको महत्वपूर्ण पहलको रूपमा रहेको छ।कार्यशाला समापनको क्रममा आयोजकहरूले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने जानकारी दिएका थिए।