रेविजबाट बनेपामा एक ‘महिला’को निधन, रोशीमा ‘भैसी’ मर्यो
मोतीराम तिमल्सिना
धुलिखेल
केहि वर्ष देखि जिल्लामा सक्रिय भएको रेविज रोगको संक्रमणले एक महिलाको निधन भएको छ भने पशुहरु मर्न थालेका छन् । बनेपा नगरपालिका वडा नम्वर ६ मा ४० बर्षिया एक महिलाको रेविजका कारण निधन भएको छ ।
‘एक महिना अघि महिलालाई कुकुरले टोकेको रहेछ । कुकुरले टोकेको कुरा उहाँले कसैलाई भन्नु भएन । केहि दिन पछि उहाँ विरामी पर्नु भयो । तत्कालै बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा पु¥याईयो । त्यहाँ रेविजको शंका गर्दै टेकु रिफर गरियो । टेकु पु¥याएको ३÷४ दिन पछि उहाँको निधन भयो’–महिलाका आफन्तले भने–‘विरामी भए पछि पनि उहाँले कुकुरले टोक्यो भन्नु भएन । उहाँलाई रेविज कुकुरले टोके पछि मात्रै लाग्छ । तपाईलाई रेविजको लक्षण देखियो भने पछि एक महिना अघि जति सडकमा हिडिरहेको कुकुरले टोकेको जानकारी गराईन् ।’ जतिबेला उनको उपचार सम्भव भएन । तत्कालै घाउ सफा गरेर रेविज विरुद्धको सुई लगाउन सकिएको भए महिलाको निधन नहुने चिकित्सकहरुले बताएका छन् । टेकुमा रहेको सरुवा रोग नियन्त्रण तथा उपचार गर्ने अस्पतालमा उपचारका लागि भर्ना भएकी बनेपा नगरपालिका वडा नम्वर ६ घर भएकी ४० बर्षिया महिलाको रेविजका कारण २०८१ मसिंर २९ गते दिउसो १.२३ बजेको समयमा निधन भएको प्रमाणित गरिएको छ । महिलाका ससुरा र श्रीमानको निधन भएको छ भने सासु र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएको उक्त परिवारले उपचार गराएको रकम समेत तिर्न सकेको थिएन ।
रेविजबाट रोशी गाउँपालिका वडा नम्वर ४ महादेवटार स्थित सिग्देलटोलमा एउटा भैसी मरेको छ । साविक महादेवटार गाविस वडा नम्वर ७ स्थित सिग्देल टोलमा कुकुरले टोकेको २० दिन पछि भैसी मरेको रोशी गाउँपालिकाको पशु स्वास्थ्य शाखामा कार्यरत पशु सेवा प्राविधिक विक्रम केसीले जानकारी दिए । भैसी लगातार विरामी भएको चार दिन पछि केसीलाई उपचारका लागि कृषकहरुले खवर गरेका थिए । गर्भवती भैसी केहि समस्या भएका कारण खानेकुरा खाएन होला भन्दै कृषकहरुले एक दुई दिन पर्खि बसेका थिए । तेश्रो दिन पशु सेवा प्राविधिकलाई खवर गरे । उपचार सेवा शुरु नहुँदै ६ महिनाको गर्भवती भैसीको रेविजबाट निधन भयो । स्वास्थ्य शाखा र पशु स्वास्थ्य शाखाको पहलमा पशुको रेखदेखमा संलग्नलाई रेविज विरुद्धको खोप उपलब्ध गराईएको छ । रोशी गाउँपालिकामा अघिल्लो वर्ष रेविजका कारण वडा नम्वर ७ कटुन्जे थानसिङ्गबेशीमा बाख्रा मरेका थिए । अन्यत्र पनि पशुमा रेविज देखिएको थियो । भैसीले टोकेको कुकुर बेपत्ता छ । केहि दिन देखि स्थानीयले कुकुरको खोजी गरेको भए पनि कुकुर फेला नपरेको केसीले जानकारी दिए ।
पशु सेवा कार्यालय काभ्रेका प्रमुख बरिष्ठ भेटेरिनरी डा.सिर्जा वाग्लेले रेविज महामारी फैलन नदिन रेविजको लक्षण देखिएका स्थानका नागरिक र सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउने अभियान शुरु गरिएको बताईन् । स्थानीय तहसँगको समन्वयमा पहिलो चरणमा करिव चार सय सामुदायिक कुकुरहरुलाई खोप लगाईएको छ । जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतिले रेविज संक्रमणका बारेमा सचेतना फैलाउन, रेविजबाट बच्न नागरिकहरुलाई खोप सेवा लिन र रेविज लक्षण भएका कुकुर तथा जंगली जनावार तथा अन्य पशुहरु देखिए तत्काल खवर गर्न अनुरोध गरिएको बताईन् । जिल्ला स्थित कार्यालय प्रमुखहरु, स्थानीय तहसँगको समन्वयमा रेविज रोगको संक्रमणका बारेमा सचेतना फैलाउन आवश्यक रहेको कक्षपतिले बताईन् ।
विगत वर्षहरुमा खानीखोला, महाभारत, चौरीदेउराली, भुम्लु, मण्डनदेउपुर, रोशी, धुलिखेल, बनेपा, पनौती, पाँचखाल लगायतका पालिकाहरुमा रेविज रोगको संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय, स्थानीय पालिकाहरुको समन्वयमा रेबिज खोप लगाइएको छ । ‘जंगली तथा सामुदायिक पशुपंक्षी तथा जनावारको सहज बस्तीमा प्रवेश तथा नयाँ नयाँ सामुदायिक कुकुरको प्रवेशका कारण रेबिज फैलन सक्ने सम्भावना छ’– स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले भनिन – ‘पछिल्लो समय रेबिज देखिएका पालिकाहरुमा विशेष निगरानी बढाइएको छ ।’
जंगली जनावारबाट बच्न बाख्राको गोठालो तथा विद्यालय जाँदा बालबालिकाहरुको साथी बनेको छ सामुदायीक कुकुर । त्यसकारण कुकुरलाई स्थानीयले माया गरेर हुर्कउने गरेका छन् । रेबिजका कारण दर्जनौँ पशुपक्षीहरु मरेका छन् । रेबिज भएका पशुहरुको काँचो मासु तथा दूध प्रयोग गरेका कारण समुदायमा त्रास फैलने गरेको छ । ‘बस्ती खाली हुँदै गयो, सुगम र सहजताका लागि सर्वसाधारण शहर जान थालेकाले खेतबारी बाँझो हुँदै जङ्गल हुन गयो’– भुम्लु गाउँपालिकाका वडा नम्बर १ का सदस्य रामज्योति पहरीले भने –‘समुदायमा खुलेआम जंगली जनावारहरु बँदेल, मृग, स्याल, कालिज प्रवेश गर्न थालेका छन् । खुल्ला गोठ, नयाँ नयाँ कुकुरहरुको गाउँ प्रवेश तथा स्थानीयहरुको सचेतना नहुँदा रेबिज जंगली जनावरबाट समुदायमा आउन सक्ने अनुमान गरेका छौं ।’ समुदायमा हुने हरेक कुकुरलाई खोप र बन्ध्याकरण गरी रेबिज पशुपक्षीबाट मानवमा सर्न नदिन अभियान संचालन गर्ने पशु सेवा कार्यालय काभ्रेका प्रमुख बरिष्ठ भेटेरिनरी डा.सिर्जा वाग्लेले बताईन् । जिल्लामा जुनसुकै बेला रेबिज फैलन सक्ने भएकाले खोप तथा अन्य तयारी गरिएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताईन् । विशेष गरी जिल्लाका हरेक क्षेत्र र वडाहरुमा सचेतना अभियान आवश्यक रहेको उनले बताईन् ।