स्याङ्जामा ज्येष्ठ नागरिकले बालबालिकालाई दुनाटपरी बनाउन, बत्ती कात्न सिकाउँदै
स्याङ्जा / स्याङ्जाको वालिङका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् ।
फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् । सामाजिक विकास कार्यालयको सहयोगमा अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकले बालगृहमा रहेका ३८ जना बालबालिकालाई मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले दुनाटपरी, बाती कात्ने, बाँसबाट बुनिने डोका तथा डस्टबिन बनाउने सीप हस्तान्तरण गर्नुभएको उहाँले बताउनुभयो ।
बालबालिकालाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र प्रयोगात्मक ज्ञानले भोलिका दिनमा परम्पराको संरक्षणसँगै सीप पुस्तान्तरणमा पनि टेवा पुग्ने अमोर सेवा बालगृहकी व्यवस्थापक कमला पराजुलीले बताउनुभयो ।
विभिन्न क्षेत्रमा सीप भएका स्थानीय ज्येष्ठ नागरिकले बालबालिकालाई आफूमा भएको सीप सिकाएका थिए ।