जर्मन सरकारद्वारा खानेपानीका लागि धुलिखेललाई एक लाख युरो सहयोग

धुलिखेल/३२ वर्ष अघि धुलिखेल नगरपालिका स्थापनाका लागि खानेपानी र खानेपानीका लागि धुलिखेल नगरपालिका बनेको धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपलब्ध गराएको खानेपानीको मुहानमा अविरल वर्षातका कारण भएको क्षतिमा राहत उपलब्ध गराउने गरी धुलिखेल नगरपालिकाको अगुवाईमा जर्मन सरकारले दुतावास मार्फत जिआईजेडसँग १ लाख युरो उपलब्ध गराउने सम्झौता भएको छ ।

नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु र जिआईजेडका तर्फबाट तिर्थ सिन्हाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, जिआईजेडका तर्फबाट संजय थापा, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णभुषण खोँजु, समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, नगरपालिकाका शाखा प्रमुखहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पनौती नगरपालिका वडा नम्बर १२ भुमेडाँडाबाट धुलिखेलमा ल्याएको खानेपानी ८८ दिन पछि अस्थायी रुपमा सदरमुकाममा आएको छ । पनौती नगरपालिकासँग र वडासँग अलग अलग सम्झौता पछि कार्य प्रारम्भ भएको थियो । अस्थायी निर्माण कार्यका लागि ३७ लाख खर्च भएको छ । खानेपानीलाई स्थायी संरचना सहित ब्यवस्थापन गर्न ३ करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त खर्चमा ४० प्रतिशत रकम जर्मन सरकारको तर्फबाट उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । हालको युरो मुल्य अनुसार १ लाख युरोको नेपाली १ करोड ४३ लाख रुपैया हुन जान्छ ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिका निर्माणसँगै खानेपानीको दीगो ब्यवस्थापनमा जर्मन सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । खानेपानीको ब्यवस्थापनका लागि जर्मन सरकारले नगरपालिकामा मात्रै सहयोग गर्ने मापदण्डका आधारमा धुलिखेलमा नगरपालिका स्थापना भएको थियो । नगरपालिका स्थापनासँगै धुलिखेलमा विश्वविद्यालय निर्माण भएको थियो । सँगै धुलिखेल अस्पताल तथा पर्यटकिय क्षेत्र निर्माणमा सहयोग पुग्यो । सदरमुकाम समेत भएकाले धुलिखेलमा पक्कि संरचना तथा अन्य पुर्वाधारहरुका लागि नगरपालिकामा खानेपानी प्रमुख माध्यम बन्न पुगेको नगर प्रमुख ब्याञ्जुले बताए । विपत्तिमा नगरपालिकाले अनुरोधमा जर्मन सरकारले धुलिखेललाई माया गरेकोमा नगर प्रमुखले सिंगो नगरका तर्फबाट धन्यवाद ब्यक्त गरेका थिए । उक्त सम्झौता एक वर्ष भित्र सम्पन्न गरिसक्ने उल्लेख छ । वाँकी श्रोत नगरपालिका र खानेपानी उपभोत्ता समितिका तर्फबाट ब्यवस्थापन हुनेछ ।