जिल्ला स्तरीय शैक्षिक प्रर्दशनीमा धुलिखेल २ रविगाउँको सेतिदेवी मावि प्रथम

धुलिखेल/शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकको संयोजन तथा शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौडाको सहयोगमा एक दिने जिल्ला स्तरीय शैक्षिक प्रर्दशनी समन्वय इकाई धुलिखेल परिसरमा आयोजना गरिएको छ । प्रर्दशनीको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालले गरेकी थिईन् भने समापन सहित पुरस्कार वितरण जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले गरेका थिए ।

१२ वटा पालिकाका १२ वटा विद्यालय सहभागि भएको शैक्षिक प्रर्दशनीमा भाषा, गणित विज्ञान र अन्य विषय समेटिएको थियो । विद्यालयहरुले प्रर्दशन गर्ने सामाग्रीहरुलाई प्रदेश स्तरीय मुल्यांकन मापदण्डका आधारमा विषयविज्ञहरुले अनुमगन गरी मुल्यांकन नम्वरका आधारमा पुरस्कृत गरिएको थियो । सेतिदेवी मावि धुलिखेल २ प्रथम भई नगद ५ हजार रुपैया पुरस्कार प्राप्त गरेको छ । उक्त विद्यालय प्रदेश स्तरीय प्रतियोगितामा समेत भाग लिन पाउनेछ । प्रर्दशनीमा दोश्रो जनक मावी नमोबुद्ध भयो उक्त विद्यालयले नगद ३ हजार रुपैया प्राप्त गरेको छ भने तेश्रो पार्वती मावी बेथान्चोक हुन सफल भयो । उक्त विद्यालयले नगद २ हजार पुरस्कार प्राप्त ग¥यो । सान्त्वना प्रभात मावी बनेपा हुन सफल भयो । उक्त विद्यालयले नगद १ हजार पुरस्कार प्राप्त ग¥यो ।

प्रर्दशनीमा राखिएका सामाग्रीहरुलाई मुल्यांकनकताहरुले पाँचवटा विद्यालाई प्राथमिकतामा राखेर नम्वर दिने मापदण्ड प्रदेशले तय गरेको थियो । जसमा प्रर्दशनी हुने सामाग्रीहरुको पाठ्यक्रमसँग सम्वन्धी, प्रर्दशन हुने सामाग्रीहरुको कच्चा पदार्थ, मौलिकता र नविनता, सैद्धान्तिक वा ब्यवहारीक अवधारणा, सामाग्रीको उपयोगिता, वातावरणमैत्री, प्रस्तुतीकरण र विषयबस्तुको ज्ञान लगायतका विषयमा छनौट गरिएको थियो । छनौट समितिमा भाषा विज्ञ अर्जुनप्रसाद श्रेष्ठ, सामाजिक विषयका लागि पाठ्यक्रम विकास केन्द्रकी सरस्वती भट्टराई र गणित तथा विज्ञान विषयका विज्ञ कृष्ण गोसाई थिए ।