बनेपाका कन्सलटेन्सीमा चोरी बढेपछि शैक्षिक परामर्श संघ काभ्रेले माग्यो सुरक्षा
बनेपाका कन्सलटेन्सीमा चोरीका घटना बढ्दै गएपछि नेपाल शैक्षिक परामर्श संघ काभ्रेले प्रहरीसँग सुरक्षा माग गरेको छ । इलाका प्रहरी कार्यालय बनेपालाई पत्र लेख्दै संघले चोरीका घटना छानविनसहित सुरक्षाको माग गरेको हो । पछिल्लो समय नियमितजसो चोरीका गतिविधि बढ्दै गएको शैक्षिक परामर्श संघ काभ्रेका अध्यक्ष भुवन रायमाझीले बताए ।
कन्सल्टेन्सीमा हरेक दिन जसो हुने चोरीका घटनाले विद्यार्थीहरुको भविष्यमा नकारात्मक असर पर्नुका साथै शैक्षिक क्षेत्रको प्रतिष्ठामा पनि आँच आउने उनले बताए । पछिल्लो एक महिनामा बनेपाका तीन वटा कन्सल्टेन्सीमा चोरी भएको छ ।
डायनामाइट एजुकेसन कन्सल्टेन्सी, फरबिड एजुकेशनल कन्सल्टेन्सी र डिज्नी सी एजुकेसनल कन्सल्टेन्सीमा ल्यापटप, मोवाइल लगायतका महत्वपुर्ण कागजात चोरी भएको हो ।
बढ्दै गएको चोरीका घटनालाई गम्भिरतापुर्वक लिई आवश्यक कदम चाल्न शैक्षिक परामर्श संघ काभ्रेले अनुरोध गरेको छ ।
घटनासँग सम्बन्धीत सीसीटिभी फुटेज उपलब्ध गराएर घटनाको छानविन र सत्यतथ्य पत्ता लगाउन संघले आवश्यक सहयोग गर्ने पनि प्रहरीलाई लेखिएको पत्रमा उल्लेख छ ।