जलवायु अनुकुलित नमुना संरचना हस्तान्तरण
धुलिखेल/धुलिखेल नगरपालिकाले उर्जा दक्ष भवन संहिता निर्माण गरी कार्यान्वयमा ल्याए सँगै जलवायु अनुकुलित भवन निर्माणका लागि नगरपालिका परिसरमा निर्माण गरिएको नमुना संरचना हस्तान्तरण गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले नमूना संरचनाको उद्घाटन गरेका छन् ।
विल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल परियोजना मार्फत निर्माण गरिएको नमूना संरचनामा श्रोत र उर्जा प्रभावकारी भवन निर्माणमा अपनाउन सकिने विभिन्न प्रविधिहरुका बारेमा जनचेतना अभिवृद्धी गर्न सहज हुनेछ । देशभरका ५५ वटा पालिकाले उक्त संरचना निर्माणका लागि सम्झौता गरिसकेका छन् । धुलिखेल लगायत २१ वटा नगरपालिकाले भवन निर्माण सम्वन्धि सहिताका लागि ऐन निर्माण गरी कार्यान्वनमा ल्याएका छन् ।
जलवायु परिवर्तनविशेषगरी ब्यक्तिको स्वास्थ्यलाई ख्याल गरी भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताईएको छ । देशभर उक्त प्रविधिका माध्यमबाट परियोजनाले १ सय २५ वटा भवन निर्माण गरिसकेको छ । परियोजनाका लागि युरोपिएन युनियनको आर्थिक सहयोगमा स्वीच एशियाको अनुदान कार्यक्रम मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा २०२२ देखि २०२६ सम्म संचालन भएको परियोजना मार्फत नेपालमा वातावरणमैत्री भवन निर्माणका लागि स्थानीय तहले ऐन निर्माण गरी कार्यान्वन शुरु गरिएको हो ।
नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगर भित्र निर्माण हुने भवनहरुका लागि जनशक्ति तयार गरी कार्यान्वन गरिने बताए । भुकम्प प्रतिरोधात्मक भवन, कम खर्चिलो र वातावरणमैत्री भएकाले नागरिकहरुका लागि सहज हुने इन्जिनियर हरिश्चन्द्र लामिछानेले बताए ।
विनका टिम लिडर सुयेश प्रजापतिले वातावरणमैत्री भवन निर्माणले नागरिकहरुको स्वास्थ्यलाई समेत सहज हुने बताए । धुलिखेल नगरपालिकाले वडा नम्वर ३ को प्रशासनीक भवन निर्माण गरी ऐन कार्यान्वनमा ल्याएको छ । त्यस्तै प्रहरी विट पनि वातावरणमैत्री निर्माण गरिएको छ ।