अनलाइन ठगी बढ्यो, सतर्क रहन साइबर ब्युरोको अनुरोध

सामाजिक सञ्जाल प्लाटफर्म र अनलाइनमा ठगीपूर्ण विज्ञापन तथा लिंकहरूबाट सतर्क रहन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ । गिफ्ट प्याकेज दिनेदेखि अनलाइनमा कोठा भाडामा खोजिदिनेजस्ता सेवा दिने भनेर ठगी कार्य भइरहेकाले आफ्ना बैंकिङ खाताको सही सदुपयोग र प्रविधिको सुरक्षित प्रयोग गर्न ब्युरोले बुधबार जारी सूचनामार्फत अनुरोध गरेको हो ।

फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबरजस्ता सामाजिक सञ्जाल प्लाटफर्ममा ठगीपूर्ण विज्ञापन तथा लिंकहरू फैलिएकोबारे ब्युरोले सबैलाई सचेत गराएको छ ।

अनलाइन रोजगारीका विज्ञापनहरू, प्रयोजित लिंकहरू र विभिन्न अनलाइन प्लाटफर्ममार्फत अनधिकृत गतिविधि बढिरहेको ब्युरोको दाबी छ ।

अनलाइन मार्केटप्लेस/अनलाइन सपिङ, गिफ्ट प्याकेज, अपुताली, अनलाइनमार्फत पीटीई परीक्षाको डेट बुकिङ, अनलाइनमा कोठा भाडा खोजिदिने लगायतका विषयमा ठगी गर्ने घटनाहरू वृद्धि हुँदै गएको ब्युरोले जनाएको छ । यसका लागि ईसेवा, खल्तीजस्ता मोबाइल वालेट र बैंक तथा वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी मागेर ठगी गर्ने उपाय अपनाइएको सूचनामा उल्लेख छ ।

त्यत्तिमात्र नभएर ठगीमा प्रयोग गर्न व्यक्तिगत बैंकिङ खाता भाडामा दिने ९मनी म्युल अकाउन्ट० जस्ता प्रवृत्तीसमेत बढिरहेको प्रहरीको ठहर छ । त्यस्ता खातामा पैसा ट्रान्सफर गर्न लगाउने गतिविधिबाट सचेत रहन प्रहरीले विशेष आग्रह गरेको छ ।

अनलाइन प्लाटफर्महरूमा ओटीपी नम्बर मागेर हुने वित्तीय ठगीको जोखिमबाट बच्न, व्यक्तिगत बैंक खाताको सही र सुरक्षित प्रयोग गर्न र अनधिकृत व्यक्तिलाई खाता प्रयोग गर्न नदिन ब्युरोले अनुरोध गरेको छ ।