एसओएस काभ्रेमा खेल सप्ताह शुरु

पनौती/ पनौती नगर पालिका वडा नं. ५ श्रीखण्डपुर स्थित एसओएस हर्मन माइनर विद्यालय काभ्रेद्वारा १४ गतेबाट वार्षिक रूपमा सञ्चालन हुने खेलकुद सप्ताह कार्यक्रमको शुरु भएको छ । उक्त खेलकुद सप्ताह कार्यक्रमको सभापति एसओएस बालग्राम काभ्रेका निर्देशक तुल्सीरत्न छुँजुले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी थिए भने स्वागत मन्तव्य विद्यालयका प्राचार्य नरेश्वर आचार्यले राखे । कार्यक्रममा एसओएस बालग्राम नेपालका नायव राष्ट्रिय निर्देशक उपेन्द्र मल्ल ‘तारा’, युवालयका निर्देशक नरेशशङ्कर प्रधानाङ्ग, वडा सदस्य प्रेमबहादुर कुँवर, वडाकी बालमैत्री सहजकर्ता गीता तिमल्सिना, परिवार सुदृणीकरण कार्यक्रमका इन्चार्ज प्रकाश अर्याल, विजयादेवी पोखरेल लगायतका अतिथिहरूको उपस्थिति थियो ।

नगरप्रमुख भण्डारीले खेलले विद्यार्थीको भविष्यलाई अझ सुन्दर बनाउने बताए । उनले यस विद्यालयले आज मात्र होइन पहिले पनि राष्ट्रिय स्तरका खेलाडी जन्माइसकेको छ भन्दै खेलाडीलाई थप हौसला दिए । खेलकुदमा कहिल्यै कसैको हार हुँदैन । कि जितिन्छ कि सिकिन्छ, यसमा हार कसैको हुँदैन भनेर नायव राष्ट्रिय निर्देशक ताराले खेलाडीलाई उत्प्रेरणा दिए ।

विद्यार्थी, अभिभावकहरूले भरिपूर्ण भएको उक्त खेलकुद सप्ताह कार्यक्रमको समुद्घाटन पनौती नगरपालिकाका प्रमुख भण्डारीले ब्यानर बहार (प्रदर्शनी) गरेका थिए । त्यस्तै खेलकुदको प्रथम उद्घाटन नगरप्रमुख स्वयम्ले कोचलाई फुटबल हस्तान्तरण गरेर गरे । कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, एरोविक्स प्रस्तुति र स्वागत नृत्य प्रस्तुत गरे । २०८१ सालको खेलकुद सप्ताह समारोह एसओएस हर्मनमाइनर विद्यालय काभ्रेको आफ्नै खेलमैदानमा अबको एक साता (पुस १९) सम्म बुद्धिचाल, खोखो, भलिबल, फुटबल, हाइजम्प, लङजम्प, बास्केटबल, लगायतका तिनदर्जनभन्दा बढी खेलहरूको भव्य आयोजना हुने कुरा प्राचार्य नरेश्वर आचार्यले बताए ।