धुलिखेलमा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका बेरोजगारहरुलाई अभिमुखिकरण

धुलिखेल/नेपाल सरकारले धुलिखेल नगरपालिकालाई नमुना रोजगार सेवा केन्द्रका रुपमा छनौट गरेको छ । धुलिखेल नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत धुलिखेलका विभिन्न वडाहरुमा संचालित आयोजनाहरुलाई पूर्णता दिन बेरोजगार नागरिकहरुको सूचिकृत गरी रोजगार उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०८१/२०८२ का लागि बेरोजगारको सूचीमा छनौट भएका नागरिकहरुका लागि काममा खटिनु पुर्व अभिमुखिकरण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचिकृत बेरोजगारहरुका लागि आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेललाई गरिव मुक्त शहर निर्माण गर्ने अभियानमा निरन्तर कार्यक्रमहरु संचालन भएको बताए । नगरपालिकाले नमूना कार्यक्रमका रुपमा परिषद्हरु गठन गरी परिषद् मार्फत सचेतना, सीप, उद्यमशिलता तथा शशक्तिकरण गरिरहेको बताए । नगरपालिका देशकै कम गरिवी भएको पालिकाका रुपमा रहेकाले उक्त संख्या शुन्यमा पु¥याउने गरी कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए । सकेसम्म १२ महिना नै काम हुने गरी धुलिखेलमा वातावरण अनुकुलित उद्योगहरु संचालन गर्ने वातावरण तयार गरेको बताउँदै नगर प्रमुख ब्याञ्जुले धुलिखेल पर्यटन, शिक्षा र स्वास्थ्यको हव भएकाले त्यहि ब्यवसायलाई अझै प्रर्वद्धन गरी रोजगार सिर्जना गर्ने र गरिवी हटाउन निरन्तर विभिन्न कार्यक्रमहरु संचालन गरिरहने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले प्रधानमन्त्री रोजगार कार्यक्रम र त्यसको प्रभावकारिता तथा त्यसको महत्व र त्यसको कार्यान्वनमा सुचिकृतहरुले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्षहरु नारायण बडाल, बद्रि हुमागाई लगायतले मन्तब्य राखेका थिए । नगरपालिका रोजगार संयोजक सम्झना शर्मा नेपालले कार्यक्रमका बारेमा जानकारी गराउँदै काममा छनौट भएकाहरुले ध्यान दिनु पर्ने विषय र उनिहरुले पाउने पारिश्रमीकका बारेमा जानकारी गराएकी थिईन् । २०७५ साल देखि शुरु भएको उक्त कार्यक्रममा धुलिखेलमा चालु आर्थिक वर्षका लागि १६ वटा आयोजनाका लागि २ सय ४१ जना छनौट भएका छन् । जसमा महिला १ सय ८३ जना र पुरुष ५८ जना रहेका छन् ।

स्थानीय तहका लागि ३४ लाख १० हजार रोजगार कार्यक्रमका लागि रकम विनियोजन भएको छ भने ५८ लाख ६० हजार निर्माण सामाग्री, हाते औजार तथा अन्य सामाग्री खरिदका लागि विनियोजन भएको छ । कुल ९२ लाख ७० हजार रकम उक्त कार्यक्रममा खर्च हुनेछ । नमुना केन्द्र भएकाले धुलिखेलमा आईडिए मार्फत ५३ लाख ६२ हजार र नेपाल सरकार मार्फत १३ लाख रकम पुँजीगत र चालु शिर्षकमा विनियोजन भएको छ । ६६ लाख ६२ हजार रकम उक्त कार्यमा विनियोजन भएको छ । सडक मर्मत तथा सम्भार, कृषि तथा सिंचाई, ग्रामिण खानेपानी, स्वास्थ्य पूर्वाधार, शिक्षा, वन तथा जलाधार क्षेत्रमा छनौट भएका योजनाहरुमा सुचिकृत बेरोजगारहरुले श्रम गर्नेछन् ।
नेपालमा सन् २०१९ सेप्टेम्वर १२ देखि २०२४ ३० जुनसम्मका लागि १ सय मिलियन डलर अर्थात १४ अर्ब सहुलियत ऋण उक्त कार्यक्रमका लागि प्राप्त भएको छ । जसबाट १ लाख ६० हजार जनालाई अल्पकालिन र २१ सय जनालाई एक सय दिनको रोजगारी दिने सम्झौता भएको थियो ।