नेपाल स्काउट तालिम : अलग जीवन भोगाई

बासुदेब घिमिरे
श्री श्वेत वराह माध्यमिक विद्यालय

बनेपा नगरपालिकाको आयोजना तथा नेपाल स्काउट स्थानीय कार्यालयको सहयोगमा यहि पौष १० देखि १५ सम्म स्काउट मास्टर तालिमको कार्यक्रम तय भएको सूचना प्राप्त भयो । पौषको चिसो मौसम, विद्यालयमा आएपछि स्काउट सुरु गर्नैपर्ने बाध्यात्मक अवस्था, ५ रात छ दिन सम्मको अनिवार्य आवासीय बसाई, तालिममा सहभागीहरुले ल्याउनपर्ने आवश्यकीय सामानहरको लामो सूची आदि विविध कारण सबैलाई अनुकुलता पनि नमिल्ने भएकोले उक्त तालिममा विद्यालयमा थप प्रशासनिक कार्यभार हुँदाहुँदैपनि आफैं सहभागी हुँने निधोमा पुगेको थिएँ म । विशेषतः समाजिक कार्यहरुमा सक्रिय रहनेगरि वेडेन पावेलले स्थापना गरेको एक अन्तराष्ट्रिय संस्था हो भन्ने पूर्वज्ञान तथा स्काउट ड्रेस प्रतिको आकर्षण बोकेर तालिम सञ्चालन हुने स्थल बनेपास्थित आजाद मा.वि. प्राङ्गणमा पुग्दा शिक्षण पेसासंगै लिइएका विविध तालिमहरुको सुविधा र सहजताको आशा पनि कतै थियो नै । नामदर्ता लगायतका आश्यकीय कार्य सकेर कार्यक्रमको उद्घाटनलाई कुरिरहँदाका दृष्यहरु क्रमशः सोचेको भन्दा फरक हुँदै गएको थियो । नेपाल स्काउटको आकर्षक पोसाकमा सजिनुभएका बहुसंख्यक अपरिचित आगन्तुकहरु तथा केहि परिचित अनुहारहरु नियाल्दै गर्दा गरिने स्काउट प्रणाम तथा स्काउट हस्तमिलनमा देखिएको भिन्नताले केहि नयाँपनको आभाष गराएको थियो । छोटो उद्घाटन पश्चात् कोर्स लिडर कृष्ण चालिसे तथा सहायक कोर्स लिडर सबु महर्जनको निर्देशनात्मक भनाइहरुले केहि चुनौती त छ अबको दिनमा भन्ने महशुस गराएको थियो ।

सुरुको दिन केहि आधारभूत स्काउटका सीपहरु तथा स्काउट सम्बन्धित परिचयमै सीमित रहेको थियो । त्यसपछिका ४ दिन यति व्यस्तता र भागदौडमा बिते कि कतिपय अवस्थामा त के के गरियो नै अलमलअलमल हुने अवस्था थियो । विहानै ५ बजे उठ, मर्निङ जगिङ, अनि पावेलले प्रतिपादन गरेका ६ स्टेप कसरत, नियमित सैद्धान्तिक कक्षा र विविध स्काउट गतिविधिहरुले बेलुका १० बजेको पत्तै हुँदैन थियो । अनि त्यसपछिको प्रत्येक दिनको परीक्षा, सबै काम सक्दा छिटो १२ बजे सुत्ने विहान ५ बजे उठ्ने कार्य छदैंछ । प्रत्येक चरण पार गरेपश्चात् पाइने व्याचले केहि खुशी त दिन्थ्यो तर पौषको चिसोमा पनि १२।१ बजेसम्मको चौरको बसाई कष्टकर पनि थियो । तालिममै सहभागीहरु अनेक पृष्ठभूमि र अनुभवहरुमा पोख्त भएर पनि होला केहि तालिम नियमहरु छलछाम गर्नु पनि चलाखी नै हो भन्ने भ्रममा हुनुहुन्थ्यो । जे होस् यी सब व्यक्तिगत प्रवृत्तिका कुराहरुपनि थिए, यो उमेरमा आएर एक्कैफेर आफ्नो बानी सुधार्न कठिन पनि छ । कतिपय काउन्सलर गुरुहरु त आफ्नो आदतलाई जित्न नसकी आवश्यकता भन्दा बढि रिस, आवेग र मपाइँत्व देखाइरहनुभएको थियो भने हामी सबै सहभागीहरुले एक्कैपटकमा स्काउटको मर्म बुझि सोही अनुसार व्यवहार गर्नु कठिन पनि थियो । आफूभन्दा लगभग दोब्बर उमेरमा कोर्सलिडर विहान ४ बजे उठेर नुहाइधुवाई गरी आफ्नो नियमित कर्ममा लागेको देख्दा, बहुसंख्यक काउन्सलर गुरुहरु कुरा बुझाउँदै सिकाउँदै सहकार्य गरिरहेको देख्दा हाम्रा धेरै साथीहरु नतमस्तक हुन्थ्यौं, सिक्न खोज्थ्यौं, गल्ति गथ्यौं सुधार्ने प्रयास पनि गथ्यौं । पाँचौदिनबाट केहि हल्का र रमाइलो बन्दै गएको तालिममा गरेको हाइकिङ र साथीहरुबीचको सहकार्यलाई भुल्न पटक्कै सकिंदैन । अन्तिम दिन विहानको सर्वधर्मसभामा सबै धर्मावलम्बीहरुप्रति प्रकट गरिएको सम्मानले स्काउट धर्म र जातीय मुद्दाभन्दा माथि नै रहेको आभाष भयो ।

नैतिकता र इमान्दारीताबाट बिमुख हुँदै पसिना बगाउन लाज मान्ने आजको पुस्तालाई जीवन पढाउन यस प्रकृतिको तालिम र अनुभवको खाँचो छ । हुन त जति जति संख्या वृद्धि हुँदै जान्छ त्यति नै मात्रामा अप्ठ्याराहरु पनि बढ्छन् नै । विविध आन्तरिक समस्यामा अलमलिएको काभ्रेजिल्लाकै स्काउटिङलाई लयमा अघि बढाउनु छ भने पक्कै पनि हामी सबैले मिलेर अनुशासित र मर्यादित समूह बनाई सहकार्य गर्नु जरुरी छ । आजसम्म जसरी जातीयता र राजनीतिबाट अछुत रहँदै स्काउटले आफ्नो साख जोगाएको छ त्यसरी नै अबमा दिनमा समेत इमान्दारिता र योगदानको कदर गर्दै अघि बढ्नुछ । चाकरी, चाप्लुसी गर्दै ठगाहा प्रवृत्तिबाट स्काउट प्रवेश गर्दै अवसर र नेतृत्व समेत आफैं हत्याउने दाउ बोकेकाहरुबाट बचाउँदै निस्वार्थ र अन्तर्मनदेखि स्काउटलाई माया गर्नेहरुको साथ लिंदै अघि बढ्ने चुनौती अवका दिनमा छ । बि.टि.सि. ५८२ तथा पि.टि.सि. ४३२ तालिमको एक सहभागीको रुपमा हामी ४३ जनाले जुन अनुभव र सिकाइको अवसर पाएका छौं यसप्रति आभार व्यक्त गर्दै आगामी दिनमा हामी सबै सहकार्यबाटै अघि बढ्न प्रतिवद्ध हुनु जरुरी रहेको छ । समग्रमा आफू र आफ्नो क्षमतालाई चिन्दै स्काउटिङमा अघि बढ्ने यो नुतन अवसर पाएकोमा भने हामी सबैले गर्व गर्नैपर्छ । सहभागी सबैप्रति मिठो सम्झना र उच्च सम्मान गर्दै आगामी दिनमा हामी कसरी अघि बढ्छौं भन्ने वास्तविक परीक्षा त अब सुरु भएको कुरालाई सदैव स्मरण गर्न समेत अनुरोध गर्दछु, हेरौं अबमा दिनमा के कति गर्न सकिन्छ, बाँकी केहि पाइला चालेपछि लेखौंला ।