पनौती नगरपालिकाको विपत्ति क्षेत्रमा सम्पत्ति ‘कर’ नि:शुल्क

पनौती/पनौती नगरपालिकाको १६ औ नगर सभाले २०८१ असोज १०–१२ गतेको भिषण बर्षाबाट उत्पन्न बाढी पहिरोबाट पिडित भएका नागरिकहरुका लागि करमा सहजिकरण गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख रामशरण भण्डारीका अनुसार बैठकमा प्रस्तुत गरिएको आर्थिक ऐन २०८१ को संशोधन सर्वसम्वतले पास भएको छ । सम्पती कर सम्वन्धी ऐनको दफालाई संशोधन गर्ने निर्णय गरेको हो । संशोधित निर्णय आर्थिक वर्ष २०८१/२०८२ सम्मका लागि पनौती नगरपालिकामा बुझाउनु पर्ने सम्पूर्ण कर राजश्व भुक्तान गरिसकेका ब्यक्तिहरुको हकमा मात्रै लागु हुने गरी सम्पत्ति कर संशोधन भएको छ । संशोधित ब्यवस्थामा नागरिकहरुका लागि १ सय प्रतिशत र साधारण निर्माणमुखी रोडा ढुंगा उद्योगहरुबाट प्रयोग भईरहेका जग्गामा चालु आर्थिक वर्ष २०८१/२०८२ का लागि लाग्ने सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णय भएको छ । नागरिकहरुका लागि बडा नम्बर १ मानेदोभान र न्यूरेखोला क्षेत्र, वडा नम्बर २ को साविक कुशादेवी गाविस वडा नम्वर ५ र ५ क्षेत्र, वडा नम्वर ८ को बगर क्षेत्र, वडा नम्वर १० को सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नम्वर ११ को ख्याकु, थुम्की, डाँडागाउँ, नेपाने क्षेत्र र वडा नम्वर १२ को सम्पूर्ण क्षेत्रका नागरिकहरुले आर्थिक वर्ष २०८१/२०८२ मा तिर्नु पर्ने सम्पत्ति करमा १ सय प्रतिशत छुट पाउनेछन् । वाढि प्रभावित क्षेत्रमा कर छुटको संशोधन बाहेकका अरु ब्यवस्थाहरु साविक बमोजिम हुनेछन् ।

२०८१/२०८२ मा लाग्ने सम्पत्तिकर बुझाई सकेका ब्यक्तिहरुका हकमा छुट पाउने क्षेत्रका नागरिकहरुले विल, रसिद र प्रमाणका आधारमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को सम्पत्ति करमा हिसाव मिलान गरिनेछ । बाढि पहिरोका कारणबाट उत्पन्न प्रकोप र समसामयिक अन्य अवस्थालाई विचार गरी आर्थिक वर्ष २०८१/२०८१ का लागि करका समसामयिक विषयमा निर्णय गर्ने अधिकार पनौती नगरपालिकामा प्रत्यायोजन गर्ने निर्णय गरेको छ । राजश्व छुटको निर्णय कार्यान्वयन गर्दा सम्वन्धित वडा समितिबाट अनुगमन गरी बाढी पहिरो पिडित भूमि क्षेत्र किटानी सिफारिस अनिवार्य समावेश गर्नु पर्नेछ ।

पनौती नगरपालिकालाई विपत्ति पछि विभिन्न निकायबाट तथा आफ्नै कोषमा रहेको गरी ३ करोड ११ लाख ६७ हजार ४ सय ७९ रुपैया आम्दानी गरेको छ भने १ करोड ८० लाख ९६ हजार ३ सय ५ रुपैया खर्च गरेको छ ।