सेतिदेवी मावि धुलिखेल २ रविको ६३ औं बार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी

धुलिखेल, रवि/सेतिदेवी माध्यमिक विद्यालय धुलिखेल नगरपालिका २ रविले स्थापनाको ६३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस, शैक्षिक प्रर्दशनी र सेतिदेवी दर्पण नामक स्मारिका विमोचन गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा विद्यालयले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

अध्यक्ष कुमार ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार सारु मगरले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयले स्थापनाको पहिलो पटक बार्षिकोत्सव आयोजना गरेको हो ।

शैक्षिक प्रर्दशनी तथा स्मारिका प्रकाशन पनि पहिलो पटक हो । विद्यार्थीहरुले पाठ्यक्रम सिकाईका आधारमा तयार गरिएका शैक्षिक सामाग्रीहरु प्रर्दशन गरिएको हो । २५ वटा स्टल प्रर्दशनीमा राखिएको छ । जसमा नगरपालिकाको समग्र वातावरण तथा विकासका मोडलहरु समेत समावेश गरिएको छ । प्रकाशित स्मारिकामा विद्यालयको स्थापना देखि हालसम्म भए गरेका सबै शैक्षिक कृयाकलापहरु समावेश गरिएको छ ।
स्व.मिनबहादुर अधिकारीको संयोजकत्वमा २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा ६३ वर्षको अवधीमा १२ जना विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु र ७ जना प्रधानाध्यापकहरु फेरिएका छन् । कार्यक्रम संचालन गर्दै पुर्व प्रधानाध्यापक समेत रहेका चर्तुभुज तिमल्सिनाले विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु विभिन्न स्थानमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।

विद्यालय शिक्षक कल्पना सापकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रममा पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा निजका परिवारका सदस्यहरु र पुर्व प्रधानाध्यापक तथा स्वर्गिय भएका प्रधानाध्यापकका परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । विद्यालय पूर्वाधारले सम्पन्न हुँदै गए पनि विद्यार्थी संख्या थपिदै गएको र छात्रावास समेतको निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु पर्ने प्रधानाध्यापक राजकुमार सारु मगरले बताए ।


कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको परिणामका लागि अभिभावक, विद्यालय र विद्यार्थी तथा स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयात्मक भूमिका आवश्यक हुने बताए ।

गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै नगर प्रमुख ब्याञ्जुले विद्यार्थीहरुमा अध्ययन गर्ने वानी कम हुँदै गएकाले प्रयोगात्मक तथा ब्यवहारीक र प्राविधिक ज्ञानमा जोड दिनु पर्ने बताए । शैक्षिक प्रर्दशनीमा जस्तै विद्यालयले विद्यार्थीहरुलाई जीवनपयोगी शैक्षिक कार्यक्रममा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु अर्जुन न्यौपाने, गणेश आचार्य, गोविन्द उपाध्याय, पुर्व प्रधानाध्यापकहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख डिकबहादुर राई, अधिकृत भोजकुमार ठकुरी, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने लगायतले विद्यालयको शैक्षिक प्रगतिमा शिक्षकहरु बीचको एकता, अभिभावकहरुको निगरानी र विद्यार्थीहरुको मेहनत आवश्यक रहेको बताएका थिए ।