एमाले नमोबुद्ध नगर कमिटीको अधिवेशन जारीः सहमतिमा नेतृत्व चयनको कसरत

नेकपा एमाले नमोबुद्ध नगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन एमालेका सचिव गोकर्ण विष्टले गरेका छन् । नयाँ नेतृत्व चयनका लागि भकुण्डेबेंसीमा जारी अधिवेशनको उद्घाटन सचिव विष्टले गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले जनताको निराशा चिर्नका लागि दुई ठुला दल एमाले र कांग्रेस मिल्नु परेको स्पष्ट पारे । राजनितिक स्थायित्वसँगै अधुरा कामलाई पुर्णता दिन ठुला दल एकजुट भएको उनले बताए । वर्तमान सरकार गठनसँगै विकास निर्माणका कामले गति लिन थालेको उनको दाबी छ ।

कार्यक्रममा विशेष अतिथी नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बाँस्कोटाले जनताको मन जित्नेगरी काम गर्न निर्देशन दिएका छन् । चुनावको टिकट नेतासँग नभई जनतासँग रहेको भन्दै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

एमाले नमोबुद्ध नगर कमिटीका अध्यक्ष कृष्णप्रसाद खनालको सभापतित्व रहेको कार्यक्रममा केन्द्रिय सदस्य रेशम लामा, जिल्ला अध्यक्ष राजन भुर्तेल, लगायत विभिन्न जिम्मेवारीमा रहेका एमाले नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । जारी बन्दसत्रमा सर्वसम्मत नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ ।