माओवादी केन्द्रीय समिति बैठक : महाधिवेशनदेखि उपनिर्वाचनबारे के-के भने प्रचण्डले ?
काठमाडौँ / सबैले चासोपूर्वक हेरेको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३० पृष्ठको प्रतिवेदन करिब तीन घण्टा लगाएर वाचन गरे । बैठक निर्धारित समय(दिउँसो १ बजे)भन्दा एक घण्टा ढिलो गरी धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा सुरु भएको थियो ।
बैठकको उद्घाटन समारोह सम्पन्न भइसकेपछि सुरुमा ७ भूगोल ३ गैर भूगोल गरी ११ प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए । प्रदेशको रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले प्रतिवेदन वाचन गर्नुअघि आधा घण्टा आन्तरिक लोकतन्त्रबारे ब्रिफिङ गरिएको सहभागी एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार आन्तरिक लोकतन्त्रको सवालमा माओवादी नै पहिलो पार्टी भएको दाबी गरेका थिए । ‘आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नेपालका पार्टीहरूमध्ये माओवादी एक हो ।
यसअघि केन्द्रीय कार्यालय बैठकमा पाँच दिन छलफल र घण्टौँ बहस गर्यौँ । त्यतिले पनि नपुगेपछि स्थायी समिति बैठकमा पाँच दिनसम्म घण्टौँ बहस गर्यौँ । त्यसले पनि नपुगेपछि प्रत्येक प्रदेशमा पुगेर केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको पनि कुरा सुन्यौँ ।
एक-एक जनाको बिचमा पुगेर ६१९ जनासँग कुरा गर्यौँ । उहाँहरूको सुझाव लियौँ । अझै लिखित र अलिखित सुझाव समेत अभिलेख नै गर्यौँ । यसको आधारमा प्रतिवेदन बनाइएको छ । केन्द्रीय समिति बैठक बस्नुअघि तीन दिनसम्म स्थायी समिति बैठकमा पेस गर्यौँ ।
त्यसकै आधारमा आज केन्द्रीय कमिटीमा प्रस्ताव राखेँ । यो प्रस्ताव हो प्रतिवेदन होइन । भोलि तपाईँहरूकै आधारमा थपघट गरेर पार्टीको दस्ताबेज बन्नेछ । पछिल्लो पार्टीहरू हेर्दा आन्तरिक लोकतन्त्रको सबैभन्दा बढी अभ्यास गरेको पहिलो पार्टी हो ।
राष्ट्रिय महाधिवेशन वा सम्मेलनमा पनि देखावटी मात्रै हुन्छ । प्रदेश प्रदेश र विभिन्न विभाग पुगेर यस्तो गरेको देखिँदैन त्यसैले हामी पहिलो हो भन्ने मेरो दाबी हो,’ प्रतिवेदन वाचनको बेला प्रचण्डले भनेका थिए ।
उनले आन्तरिक लोकतन्त्रको अभ्यास गर्नमा पहिलो पार्टी भइसकेपछि स्थायी कमिटिभन्दा पनि केन्द्रीय कमिटीमाथि भएकाले स्थायी कमिटीले निर्णय गरेर केन्द्रीय कमिटीमा निर्णय सुनाउने हुन नसक्ने उनको तर्क थियो ।
आन्तरिक लोकतन्त्रबारे थप स्पष्ट पार्दै उनले भने–‘स्थायी कमिटीमा केही निर्णय भएको छैन, त्यो छलफल मात्र हो । यस्तो यस्तो भएको छ भनेर सुनाउने हो र बाँकी केन्द्रीय कमिटीले गरेको निर्णय स्थायी समितिले मान्ने हो ।
नेपालमा आन्तरिक लोकतन्त्रको अभ्यासमा कांग्रेस र एमालेभन्दा अब्बल छौँ । एकले अर्कालाई थिचेर जाने कुरा भएन । हाम्रै कार्यकर्ताबाट हल गर्नुपर्छ भनेर केन्द्रीय कार्यालय, स्थायी समिति, केन्द्रीय परामर्श समितिमा छलफल गर्यौँ । ती सबै साथीहरुको सुझावमा यो दस्ताबेज आएको हो । तर यो पनि अन्तिम होइन ।’