काभ्रेपलाञ्चोक जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रगती समीक्षामा फरक शैली
काभ्रेपलाञ्चोक जिल्ला स्थित स्थानीय तह, संघीय र प्रादेशिक कार्यालयहरुको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा पनौती नगरपालिका हलमा भएको प्रगती समिक्षा कार्यक्रममा जिल्लाका सबै स्थानीय तहहरु, संघीय र प्रादेशिक सरकारी कार्यालयहरुको आर्थिक वर्ष २०८०/८१ देखि हालसम्मको प्रगती र सरकारी कार्यालयहरुले भोग्नु परेका चुनौतीका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले जिल्ला समन्वय समिति काभ्रेले गरिरहेको कार्यले जिल्ला समन्वय समितिको आवश्यकता र भूमिकालाई थप स्पष्ट पारेको बताए । जिल्ला समन्वय समितिले विविध क्षेत्रमा गरिरहेको नयाँ नयाँ कामबाट आफु प्रभावित भएको उनको भनाई थियो । उनले समन्वय समिति काभ्रेले सबैलाई समेट्न सफल भएको भन्दै सबैको एकताले नै नयाँ नयाँ काम सम्भव भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लास्थित सरकारी कार्यालयहरुको प्रगती सन्तोषजनक रहेको बताए । गत असोजमा आएको बढीपहिरोका कारण अप्ठेरो परिस्थितीको सापना गर्न परिरहेको उनले बताए । समन्वय प्रमुख गौतमले विपदको समयमा खोज तथा उद्धार र राहतमा सबै निकायको सक्रियता प्रशंसनीय रहेको बताए । पुर्ननिर्माणमा समेत सबैको सहयोग र सबै पक्षको एकता जरुरी रहेको उनको भनाई थियो । उनले घण्टौंसम्म प्रतिवेदन प्रस्तुतीमा समय खर्चिने पट्यार लाग्दो परिस्थिती बदल्न प्रगती समिक्षाको नयाँ शैली अपनाइएको समेत बताएका छन् ।
कार्यक्रममा सरकारी कार्यालयहरुको तर्फबाट जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, पालिकाहरुको तर्फबाट पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा र नागरिक समाजको तर्फबाट नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले भनाई राखेका थिए ।
परम्परागत शैलीलाई परिवर्तन गर्दै समिक्षा कार्याक्रम श्रब्यदृश्य सामाग्री मार्फत सञ्चालन गरिएको थियो । कार्यक्रममा जिल्लाको वस्तुस्थिती झल्कने सामाग्री, बाढीपहिरोको कारण जिल्लाले सामना गर्नुपरेको विपद्को असर, जिल्लास्थितीत कार्यालयहरुको प्रगती श्रव्यदृश्य माध्यममार्फत प्रस्तुत गरिएको थियो । आसनग्रहणमै अधिकांश समय खर्चिने परिपाटीको अन्त्य गर्न भन्दै कार्याक्रममा सबैलाई यथास्थानमा एकमुष्ट आशनग्रहण गराइएको थियो ।