एच.पि.भि. खोप अभियानको तयारी सम्वन्धी समन्वयात्मक बैठक
धुलिखेल/जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा संचालन हुन लागेको राष्ट्रिय खोप कार्यक्रम एच.पि.भि अभियान संचालन तथा नियमित खोप कार्यक्रमको सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धी जिल्ला स्तरीय खोप समन्वय सम्वन्धी अन्र्तक्रिया आयोजना गरिएको छ ।
जिल्ला खोप समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सचिव रागीश्री कक्षपति श्रेष्ठ, खोप शाखा प्रमुख पार्थमणी न्यौपाने, बाल कल्याण महाशाखा प्रमुख डा. अभियान गौतम लगायतले खोप कार्यक्रम, प्रभावकारीता र तयारीका बारेमा जानकारी गराएका थिए । सरोकारवाला र संचारकर्मीहरुको सहभागितामा आयोजित उक्त कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु लगायतले खोप कार्यक्रमको सहभागिता र सफलताका बारेमा जानकारी दिएका थिए ।
२०८१ माघ २२ देखि फागुन ६ गतेसम्म जिल्लाका विद्यालय भित्रका कक्षा ६ देखि १० कक्षा अध्ययन गर्ने १५ हजार ६ सय ८६ छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समुहका २ सय ४९ जनालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईदैछ । जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपतिले राष्ट्रिय अभियान सफल बनाउन स्थानीय तहसँगको समन्वयमा तथ्यांक संकलन लगायतका कार्यहरु पुरा भएका छन् । केन्द्रीय कार्यक्रम अनुसार थप कार्यक्रम संचालन गर्ने तयारी गरिएको कक्षपतिले बताईन् । खोप अधिकृत पार्थमणी न्यौपानेले आवश्यक तयारी पुरा भएको बताए । काभ्रेपलाञ्चोक जिल्लामा सामुदायिक २ सय ५२ र नीजि ८४ वटा विद्यालयका १५ हजार ६ सय ८६ जना र विद्यालय बाहिर रहेका २ सय ४९ जना गरी कुल १५ हजार ९ सय ३५ जनालाई उक्त खोप लगाउने तयारी गरिएको छ । विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका २ सय ४९ किशोरीहरु छन् । विद्यालय बाहिर रहेका किशोरीहरुको संख्या बनेपामा धेरै छ । बनेपामा १ सय २० जना उक्त उमेर समुहका किशोरीहरु विद्यालय बाहिर छन् ।
धुलिखेल र रोशीमा उक्त समुहका कोहि पनि किशोरीहरु विद्यालय बाहिर छैनन । महाभारतमा १, भुम्लु र चौरीदेउरालीमा २÷२ जना, नमोबुद्धमा ५ जना, पनौतीमा १६ जना, पाँचखालमा १४ जना, मण्डनदेउपुरमा १२ जना, खानीखोलामा २१ जना, तेमालमा ११ जना र बेथान्चोक गाउँपालिकामा ४५ जना रहेका छन् । तथ्यांक अनुसार कक्षा ६ मा अध्ययन गर्ने ३ हजार ८ सय ६६, कक्षा ७ का ३ हजार ३३, कक्षा ८ मा ३ हजार १, कक्षा ९ का २ हजार ९ सय ८७ र कक्षा १० का २ हजार ७ सय ९९ जना गरी विद्यालय तहमा १५ हजार ६ सय ८६ जनालाई खोप लगाईनेछ । पालिका अनुसार धुलिखेलमा २५ वटा विद्यालयका १ हजार २ सय ९, नमोबुद्धमा २४ विद्यालयका ८ सय ८८, पनौतीमा ५५ विद्यालयका २ हजार ४ सय ५१, पाँचखालमा २८ विद्यालयका १ हजार ५ सय ८ जनाले खोप लगाउने छन् । त्यस्तै बनेपामा ५२ विद्यालयका ३ हजार ९ सय ७८ जना, मण्डनदेउपुरमा २१ विद्यालयका ९ सय ७८ जना, खानीखोलामा १० वटा विद्यालयका ६ सय ४६ जना, चौरीदेउरालीमा २० वटा विद्यालयका ४ सय ४७ जना, तेमालमा १९ विद्यालयका ४ सय ४४ जना, बेथान्चोकमा १४ विद्यालयका ५ सय ७८ जनाले खोप लगाउने छन् । त्यस्तै भुम्लुमा २५ विद्यालयका ५ सय २७ जना, महाभारतमा १९ विद्यालयका ८ सय ९१ जना र रोशी गाउँपालिकामा २४ विद्यालयका १ हजार १ सय ४१ जना छात्राहरुले खोप लगाउनेछन् ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको हकमा विद्यालयले उपलब्ध गराएको परिचयपत्र र विद्यालय बाहिर रहेका किशोरीहरुको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाईनेछ । नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । हरेक वर्ष सोहि कारण १ हजार ३ सय १३ जना औषतमा प्रत्येक दिन ४ जना नेपाली महिलाहरुको निधन हुने गरेको छ । यो रोग विरुद्धको खोप लगाएमा एच.पि.भी भाईरसको संक्रमणबाट सुरक्षित रहन सकिन्छ । प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुनेछ । यो रोग यौनसम्पर्कका माध्यमबाट अर्काे ब्यक्तिमा सर्ने गर्छ । मानव शरिरमा क्यान्सर गराउने उच्च जोखिम भएका एच.पि.भी भाईरसको पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।
तल्लो पेट दुख्ने, योनिबाट गन्हाउने पानी आउने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, कमजोर महसुस हुने, रक्तअल्पता लगायतका लक्षणहरु पाठेघरको मुखको क्यान्सरका लक्षण हुन् । यसलाई प्राथमिक तहको रोकथाम र दोश्रो तहको रोकथाम गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा निदान भयो भने उपचार गरेर निको हुन सक्छ । तेश्रो तहको विधिबाट पनि पाठेघरको मुखको क्यान्सरको निदान भएका महिलाहरुको उपचार गरिन्छ ।