नमोबुद्धमा २ सय १८ वटा सडकको २ सय १५ किमी खण्ड सफाई गर्न १ करोड ६९ लाख १२ हजार खर्च
नमोबुद्ध/नमोबुद्ध नगरपालिकामा असोज १०–१२ मा परेको विपत्ति पछिक वडा स्तरीय सडक संचालनका लागि भएको खर्च अस्वभाविक भएको भन्दै नगर प्रमुखलाई राजनीतिक दल तथा वडा सदस्यहरुले ध्यानाकर्षण गराएका छन् ।
वडा कार्यालयहरुले वडा समितिमा समेत छलफल नगरी खर्च विवरण पेश गरेको भन्दै वडा स्तरमा विरोध शुरु भएको छ । काम र खर्चको विवरण पारदर्शी गर्न वडा अध्यक्षहरुलाई नागरिकहरुले अनुरोध गरेका छन् । क्षति कम भएका वडाहरुमा समेत धेरै खर्च देखिएको भन्दै नागरिक स्तरबाट आलोचना शुरु भएको हो ।
११ वटा वडामा १ करोड ६९ लाख १२ हजार ८ सय ५८ रुपैया खर्च भएको हिसाव प्रस्तुत गरिएको छ । जसमा नगरपालिकाको तर्फबाट २६ हजार १ सय १५ लिटर इन्धन उपलब्ध गराईएको थियो । इन्धन उपलब्ध गराउँदा नगरपालिकाले ४३ लाख ६ हजार १ सय १५ रुपैया भुक्तानी गरिसकेको छ । नगरपालिका, वडा कार्यालय र अन्य संघ संस्थाका तर्फबाट १ करोड ८६ लाख ८३ हजार ३ सय ८५ रुपैया खर्च गरेको छ । २ सय १८ वटा सडकमा २ सय १५ किमी सडक सफाई गरिएको विवरण पेश गरिएको छ ।
वडा नम्वर १ मा ७ लाख ८२ हजार ८ सय ९४, वडा नम्वर २ मा १६ लाख ७८ हजार ६ सय ६१, वडा नम्वर ३ मा २९ लाख ३६ हजार ६ सय ५५, वडा नम्वर ४ मा १२ लाख ८० हजार ४५, वडा नम्वर ५ मा करिव २५ लाख खर्च भएको छ । वडा नम्वर ५ ले अझै पूर्ण विवरण बुझाएको छैन । वडा नम्वर ६ मा ९ लाख ९० हजार १ सय ६०, वडा नम्वर ७ मा ७ लाख ८३ हजार ३ सय ८३ रुपैया, वडा नम्वर ८ मा ५ लाख २८ हजार २ सय १ रुपैया, वडा नम्वर ९ मा १९ लाख ७७ हजार ६ सय १ रुपैया र वडा नम्वर १० मा २० लाख ३४ हजार २ सय ८० रुपैया खर्च भएको छ । वडा नम्वर ११ मा १४ लाख २० हजार ९ सय ७८ रुपैया खर्च भएको छ ।
नगरपालिकामा पेश भएका विल तथा भरपाईहरुमा पूर्ण छानविन गरेर मात्रै भुक्तानी गर्न स्थानीयले नगरपालिकालाई अनुरोध गरेका छन् । क्षति कम भएका वडाहरुमा देखिएको अस्वभाविक खर्च प्रति नागरिकहरुले प्रश्न उठाएका हुन् ।