बनेपामा नेवाः एकता दिवस मनाइयो
बनेपामा पन्ध्रौं नेवाः एकता दिवस मनाइएको छ । पुर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा एकता दिवस मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री नेपालले विविधतामा एकता नेपालीको विशेषता भएको बताए । नेपालमा १ सय ४२ जातजाति र १ सय २३ भाषा बोल्ने मानिसहरुको बसोबास रहेको भन्दै पुर्वप्रधानमन्त्री नेपालले विविधताले भरिएको देशका नागरिक नेपाली संसारमा गौरवका साथ आफ्नो पहिचान लिएर अघि बढेको बताएका छन् ।
भाषा, सँस्कृति र सम्पदा राष्ट्रको गौरव भएको उनको भनाई थियो । जुन देशको आफ्नोपन हुँदैन त्यो देशको छुट्टै पहिचान नहुने नेपालले बताए । विश्वमा जुन देशमा द्धन्द्ध हुन्छ त्यस देशमा नेपालीको खोजी हुने गरेको भन्दै पुर्वप्रधानमन्त्री नेपालले नेपालको गौरवशाली इतिहास रहेको समेत बताए ।
नेपालीको एकताले नै नेपालले अनेक चुनौतीको सामना गर्न सफल भएको उनको भनाई थियो । सबै भाषा, सँस्कृति, जातजातिलाई सम्मानपुर्ण व्यवहार जरुरी रहेको पनि उनले बताए ।
दलित, महिला, जनजातिका नाममा हुने फरक व्यवहारका विरुद्ध जुध्दै आएको भन्दै पुर्वप्रधानमन्त्री नेपालले विभिन्न बहानामा हुने विभेद अस्विकार्य रहेको बताएका छन् । भाषा, संस्कृति र सम्पदाको संरक्षणमा एकता दिवस महत्वपुर्ण रहेको नेपालले बताएका छन् ।
कार्यक्रममा पुर्वमन्त्री राजेन्द्र श्रेष्ठ, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, साहित्यकार मोहन दुवाल, हलिनेवा गुथी संस्थापक अध्यक्ष शान्त प्रकाश श्रेष्ठ, अध्यक्ष विनोद महर्जन, उपाध्यक्ष सुरेश शैंजु, महासचिव अमरकाजी श्रेष्ठ, सम्पदा अभियान्ता राजाराम तन्दुकार, मंगल लक्ष्मि श्रेष्ठ, रामकाजी प्रधान, मोहन तौजले लगायतले नेवार संस्कृति सम्पदा र संरक्षणको बारेमा धारणा राखेका थिए ।
संस्कृति र सम्पदाको धनी ऐतिहासिक थलोको रुपमा रहेको काभ्रेको संस्कृति र सम्पदाको जगेर्ना गर्ने उदेश्यले एकता दिवस आयोजना गरिएको हलि नेवा गुथी काभ्रेका अध्यक्ष रामकाजी प्रधानले बताए ।
विभिन्न ठाउँको संस्कृति आदानप्रदानका लागि एकता दिवस महत्वपुर्ण रहेको नेवा एकता दिवस मुल आयोजक समिति काभ्रेका संयोजक जगनाथ श्रेष्ठले बताएका छन् ।
कार्यक्रममा बनेपा, नाला, साँगा, धुलिखेल, खडेपु, चौकोट र पनौतीको नेवार संस्कृति र परम्परा प्रस्तुत गरिएको थियो । कार्यक्रम संयोजक भवानी जोशीले सञ्चालन गरेका थिए ।