बनेपामा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको आठौं साधारणसभा
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बनेपामा आयोजना गरिएको साधारण सभामा पुर्व उद्योग राज्यमन्त्री एवं वागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै वादेले व्यवसायलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय प्रत्यक्ष रुपमा मानव स्वास्थ्यसँग जोडिएकाले गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गरेका छन् ।
कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष तेविन्द्र रत्न शाक्यले निजि क्षेत्र र नेपाल सरकारसँगको सहकार्य, समन्वय र सहभागीतामा मुलुकलाई विकास र समृद्धिको उचाइमा पुर्याउने अभियानमा व्यवसायीहरु प्रतिवद्ध रहेको बताए । यद्यपी पछिल्लो समय कोरोना भाइरस, डेंगी लगायतका विभिन्न महामारीले व्यवसाय प्रभावित बन्न पुगेको उनको भनाई छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय हजारौंलाई रोजगारीको सिर्जना गरी राजश्वको मुख्य स्रोत बनेको उनले बताए । तर व्यवसायीको समस्यालाई राज्यले व्यवस्थि तगर्न नसकेको उनले गुनासो गरेका छन् । मौसमी अनुकुलता र पुर्खाले धानेर राखेको कृषिलाई समेत व्यवस्थित गर्न नसक्दा अर्बौ रुपैयाँको कृषिजन्य उपज आयात गर्नुपरिरहेको अध्यक्ष शाक्यले बताए । राज्यले नीतिगत तथा कानुनी सुधार गर्न जरुरी रहेको उनको भनाई थियो ।
महासचिव हिम किसोर काङमाङ राइले स्थानीय स्तरमा सिमित लगानीमा व्यवसाय गरिरहेका व्यवसायीलाई भ्याटको अनिवार्यताले व्यवसाय गर्न कठिन भइरहेको बताए । अनुमती नलिई व्यवसायीक नाफा कमाउने उदेश्यले सञ्चालन भइरहेका व्यवसायको अनुगमन तथा निरिक्षण अनिवार्य एवं अपरिहार्य रहेको उनको भनाई छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए । उनले राज्य व्यवसायमिैत्री बन्नुपर्ने बताए । काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघका अध्यक्ष शिव प्रसाद तिमल्सिनाले गुणस्तरीय सेवाका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रदेश संयोजक, जिल्ला अध्यक्ष लगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो ।