बहुउदेश्यीय संरचना सहित बनेपामा कृत्रिम ‘ताल’, पहिलो चरणको निर्माण सकेर परिक्षण

मोतीराम तिमल्सिना
बनेपा, नाला

बनेपा नगरपालिका वडा नम्वर २ हिलेजलजले सामुदायिक वन ‘ख’ मा निर्माण भईरहेको बहुउदेश्यीय सहितको कृत्रिम तालको सफल परिक्षण गरिएको छ । बागमती प्रदेश सरकारको लगानीमा डिभिजन सिंचाई कार्यालय काभ्रेले निर्माण ब्यवसायी मार्फत निर्माण गरेको उक्त तालको सफल परिक्षण गरिएको हो ।


ताल निर्माणका लागि भ्याट सहित ६ करोड १८ लाख ५९ हजार २ सय ७९ रुपैया प्राप्त भएको थियो । यो पहिलो चरणको निर्माण कार्य हो । सामुदायीक वन क्षेत्रमा पर्यटकीय गन्तव्य सहित खानेपानी र सिंचाई लगायतको प्रयोजनका रूपमा विकास गर्ने उद्देश्यले ताल निर्माण गरिएको हो ।

हिले जलजले सामुदायिक वन ‘ख’ मा निर्माण गरिएको पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र १८२ मिटर लामो रहेको छ । तालको कुल क्षेत्रफल ०.४९ हेक्टर रहेको छ । तालको बाँध ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा निर्माण गरिएको हो ।

पहिलो चरणमा ताल निर्माण गरिएको छ भने दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायतका अन्य पूर्वाधार निर्माण गरिने छ । वन क्षेत्रमा तालका साथै मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै ताल आसपासको सौन्दर्यीकरणको काम गरिने छ ।

पहिलो चरणमा ताल निर्माणका लागि २०७९ साल मसिंर ८ गते विजय/लोटस/तेजस्वी जेभीसँग दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि प्रारम्भिक वातावरणीय मुल्यांकन प्रतिवेदनलाई परिमार्जन गरिएकाले पहिलो वर्ष काम हुन सकेको थिएन ।

ताल निर्माणका लागि निर्माण व्यवसायी कम्पनीसँग पाँच करोड ८९ लाख ५१ हजार ५१० रुपियाँमा ठेक्का सम्झौता भएको थियो  । तालसहितका अन्य संरचना निर्माण लागत अनुमान भ्याटबाहेक १६ करोड ९४ लाख ५० हजार रुपियाँ रहेको छ ।

ताल निर्माण पछि काठमाडौँ नजिकको पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ । हिले जलजले सामुदायिक वनमा ताल लगायतका संरचना निर्माण भएपछि तालमा डुङ्गा, आसपास होटल तथा पसल सञ्चालनसँगै तालभन्दा तल्लो भागमा रहेको बस्तीका लागि खानेपानीको मुहानका लागि पानी पुनर्भरणसमेत हुने छ ।पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको हो ।

तालसँग जोडिएको किवदन्ती
जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न संघीय सरकारका मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले निर्देशन दिएका थिए ।

२०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले उक्त क्षेत्रमा ताल सहितका संरचना निर्माण गर्ने गरी गुरुयोजना तयार गरेका थिए । बहुउद्देश्यीय परियोजनाका रुपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागत रुपमा लगिएको काभ्रेपलाञ्चोकका सांसद गोकुल बाँस्कोटाले बताए।

उनका अनुसार बनेपाको वासुकी क्षेत्र र हिलेजलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो ।संघीय पर्यटन मन्त्रालयको सशर्त अनुदानको १५ लाख डिपिआर लगायतको प्रयोजनका लागि विनियोजन गरिएको थियो । सोहि डिपिआरबाट शुरु भएको हिलेजलजले तालको पहिलो चरणको निर्माण कार्य सकिएको हो ।

सानो पोखरीमा अवस्थित हिले जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व छ ।नगरकोटस्थित महादेव पोखरी र हिले जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किवदंती छ । यस्तै वासुकी नाग हिलेजलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ ।

हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही) को दिन पनौतीमा लाग्ने जात्रामा हिलेजलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दै आएको छ । वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फकृँदा पहिलेकै अवस्थामा आउने किंवदन्ती पनि पाइन्छ ।

वासुकी नागले पनौतीको भ्रमण गर्दा उनको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आएको स्थानीय कृष्णप्रसाद दाहालको भनाइ छ । हिलेजलजले क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माण गर्न लागिएको हो ।

यसरी शुरु भएको थियो ताल निर्माण कार्य
ऐतिहासिक क्षेत्र हिलेजलजलेलाई क्षेत्रलाई धामिर्क, सांस्कृतिक र पर्यटकिय हिसावले ब्यक्तिहरुको आर्थिक समृद्धीसँग जोड्ने उदेश्यले नगरपालिकाले पुर्वाधार निर्माण तथा उक्त क्षेत्रको संरक्षण शुरु गरेको तत्कालिन उपप्रमुख रेखा सापकोटा दाहालले बताईन् ।

तत्कालिन वडाअध्यक्ष कृष्णप्रसाद दाहालले हिलेजलजले क्षेत्रलाई प्राकृतिक रुपमा त्यहि अवस्थामा रहने गरी कृत्रिम ताल निर्माण गर्ने योजनामा नगरपालिकाले गुरुयोजना तयार गरी कार्य प्रारम्भ गरेको बताए । ‘पर्यटन प्रर्वद्धन गर्ने, खानेपानी तथा सिंचाईको समेत ब्यवस्था गर्ने गरी बहुउदेश्यीय परियोजना संचालन गर्ने तयारीमा छौं’–तत्कालिन वडा अध्यक्ष कृष्णप्रसाद दाहालले भने –‘ड्याम निर्माण गरी एक किलोमिटर लामो ताल बनेसँगै त्यसबाट जम्मा भएको पानीले खानेपानी तथा सिंचाईको काम त गर्छ नै पर्यटकिय हिसावले बोट संचालन गरी पर्यटकहरुको घुमाई लम्याउनेछ ।’ चराचुरुङ्गी, बन्यजन्तु समेतको संरक्षण गर्ने गरी स्थानीयहरुले तालको संरक्षण गर्नेछन् ।

तालको वरपर रहेका रुखहरुमा ट्रि हाउस, ट्रि सेन्टर निर्माण गरी पर्यटकहरुको बसाई लम्याउने संरचना निर्माण गरिनेछ । बनेपा नगरको गौरव र आर्कषक योजना हिलेजलजलेमा निर्माण गरिने ताल तथा अन्य संरचनाको सम्भाब्यता अध्ययनसँगै तयार गरिएको गुरुयोजनाको कार्य पहिलो चरणमा सकिएको छ ।