सदरमुकाम धुलिखेलमा बजार अनुगमन, दुईवटा पसललाई जरिबाना
धुलिखेल/जिल्ला स्तरीय बजार अनुगमन समितिले धुलिखेल सदरमुकाम स्थित धुलिखेल बजारका विभिन्न होटल तथा किराना पसलहरुको अनुगमन गरेको छ । यो नियमित अनुगमन हो ।
जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धुलिखेल उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाका प्रतिनिधिहरु सम्मिलित अनुगमन टोलीले धुलिखेलका विभिन्न होटल तथा पसलहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मापदण्ड विपरित रहेका दुई वटा किराना पसललाई ५/५ हजारका दरले जरिवना गरेको छ भने केहि पसललाई सचेत गराएको छ । खाद्य तथा किराना पसलमा म्याद नाघेका सामाग्री फेला परे पछि तत्कालै नष्ट गरिएको छ ।
अनुगमन टोलीले दुई दर्जन भन्दा धेरै होटल पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ब्यवसायीहरुलाई सचेत गराउँदै कानून अनुसार दर्ता गर्न, म्याद नाघेका सामाग्री विक्री वितरण नगर्न, सरसफाई तथा गुणस्तरमा ध्यान दिन सचेत गराएको थियो ।
टोलीमा उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका पूर्णप्रसाद पौडेल, जिल्ला समन्वय समितिका भरत सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतका पत्रकार लगायतको सहभागिता रहेको थियो ।