काभ्रे र सिन्धुपाल्चोक जिल्लाका कृषि प्राविधिकहरुले लिए नवप्रवर्तन तथा नविनतम प्रविधि सम्वन्धी तालिम

धुलिखेल/काभ्रेमा दुई जिल्लाका कृषि प्राविधिकहरुलाई नवप्रवर्तन तथा नविनतम प्रविधि सम्बन्धी आयोजना गरिएको तीन दिने तालिम शुक्रबार समापन गरिएको छ ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उदेश्यका साथ काभ्रे र सिन्धुपाल्चोक जिल्लाका सबै स्थानीय तहका कृषि शाखा प्रमुख एवं प्राविधिक र प्रतिनिधिहरुको लागि उक्त तालिम आयोजना गरेको हो । तालिममा सहभागिहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव विनोदकुमार भट्टराई, कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी, बागवानी विकास केन्द्र पाँचखालका बरिष्ठ बागवानी विकास अधिकृत विष्णु बोगटी लगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले प्रदेश भित्र रहेका जिल्लाका सबै किसानहरुलाई राहत तथा अनुदानसँगै प्रविधि र नयाँ खोज अनुसन्धानमा केन्द्रित गरिने बताए ।

तालिमको पहिलो दिन कृषि क्षेत्रमा प्रयोगमा आएको नविनतम प्रविधि र नेपालको अवस्था बारे छलफल भएको थियो । नवप्रवर्तनसँगै बाली वीमाको अवस्था, महत्व र यसको अवसर र चुनौतीका बारेमा छलफल भएको थियो । तालिमको अन्तिम दिन पालिकाले गरिरहेका असल अभ्यास, कृषि क्षेत्रका चुनौतीका बारेमा छलफल भएको थियो । कृषिमा डिजिटल मोवाइलको प्रयोग लगायत प्रविधिसँग सम्बन्धीत विषयमा महत्वपुर्ण छलफल भएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । नविनतम प्रविधिको प्रयोग मार्फत कृषि क्षेत्रमा अधिकतम लाभ लिनका लागि कार्यक्रम महत्वपुर्ण भएको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए । साथै फर्टिगेसन सम्बन्धि शैद्धान्तिक र प्रयोगात्मक विषयमा जानकारी गराईएको थियो ।