बाग्मती सफाइको नेतृत्व अब वडाले लिने

काठमाडौं/वाग्मती सफाइ महाअभियान शुरु भएको ६०९ हप्तापछि स्थानीय सरकारकै नेतृत्वमा सफाइमा अभियानकर्मी जुट्न थालेका छन्।

काठमाडौं महानगरपालिका- ८ को नेतृत्वमा भएको सफाइ पशुपति क्षेत्रमा केन्द्रित छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा गरिएको सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले दिए । सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको छ ।

सफाइमा पूर्वमुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगत, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत जनप्रतिनिधि र अभियानकर्मी उपस्थित थिए।

२०७० जेठ ५ गते शुरु भएको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा हुने गरेको छ। गत बुधबार काठमाडौं  महानगरपालिका–११ मा वाग्मती छुने महानगरपालिकाका १० वडाका वडाध्यक्षको सहभागितामा भएको बैठकले सफाइको जिम्मेवारी वडाले लिने सहमति भएको हो।