पाँचखाल नगरपालिकाका ११ वटा वडामा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ शिविर

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा पाँचखाल नगरपालिकाका ११ वटा वडामा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु भएको छ । ४ दिनसम्म सञ्चालन हुने शिविरका लागि माट्रिका आइ सेन्टरले प्राविधिक सहयोग गरेको छ । आजबाट सुरु भएको शिविर पाँचखाल नगरपालिकाका विभिन्न स्थानमा ५ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाका ११ स्थानमा हुने निःशुल्क शिविरमा आँखा सम्बन्धी समस्या पहिचान भएका विरामीहरुको निःशुल्क अप्रेशनको व्यवस्था गरिएको छ । साकोसका अध्यक्ष बाबुकाजी पराजुलीले शिविरसँगै सचेतना कार्यक्रम पनि भइरहेको बताए । बचत तथा ऋणको कारोबार मात्रै नभई सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर लगायतका सामाजिक काम समेत साकोसले गरिरहेको उनले बताएका छन् ।
शिविर अन्तर्गत पहिलो दिन आज पाँचखाल नगरपालिका वडा नम्बर १ को कोट्याङ शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ मा केराघारी शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १० को शहरी स्वास्थ्य केन्द्रमा मोतिविन्दुको स्क्रिनिङ शिविर गरिएको आर्थिक विकास मित्र साकोस बनेपा सेवा केन्द्र प्रमुख प्रभुराम कोइरालाले जानकारी दिए ।
दोस्रो दिन भोली माघ ३ गते पाँचखाल ८ स्थित होक्से स्वास्थ्य चौकी, वडा नम्बर ९ को साठ्ठीघर स्वास्थ्य चौकी, वडा नम्बर ११ मा खरेलथोक स्वास्थ्य चौकी र वडा नम्बर १३ मा कोशिदेखा स्वास्थ्य चौकीमा शिविर हुँदैछ । यस्तै माघ ४ गते पाँचखाल नगरपालिका–३ समाजकल्याण शहरी स्वास्थ्य केन्द्र, पाँचखाल–६ मा प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोक, पाँचखाल–७ मा श्रीरामपाटी शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १२ मा देवभूमी बालुवा स्वास्थ्य चौकीमा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ हुने कोइरालाले जानकारी दिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले गाउँमै हुने विशेषज्ञ सेवाले आँखा जाँचका लागि सदरमुकाम धाउनुर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । उनले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारीसँगै थप समस्या आउन नदिन शिविर महत्वपुर्ण हुने बताएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकासँगको सहकार्यमा शिविर आयोजना गरिएको उनले बताए । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम रहेको भन्दै शिविरबाट स्वास्थ्य लाभ लिन आर्थिक प्रशासन विभाग प्रमुख मनुप सापकोटाले अनुरोध गरेका छन् ।

