रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा, देशमा न्याय नमरेको टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । आज जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी तिरेर उनी हिरासतबाट निस्किएका छन् ।

रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पुरा गरेर साँझ ७ बजे रवि थुनामुक्त भए । उनी अदालतबाट निस्किँदा कार्यकर्ताहरुले खुशी मनाएका छन् ।

रविले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए । उनले आफू न्याय प्रक्रियामा सघाउन आएको र अदालतप्रति सम्मान रहेको बताए । ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ,’ रविले भने ।

यसअघि कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी लिएर पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएपछि पुस २५ गते हिरासतमुक्त भएका लामिछाने २८ गते काठमाण्डौ जिल्ला अदालतमा उपस्थित भएका थिए । 

कास्कीमा लामिछानेविरुद्ध पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम दुरुपयोगसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छ । काठमाण्डौमा लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र सङ्गठित अपराधसम्बन्धी मुद्दा परेको छ । लामिछानेविरुद्ध सहकारी सदस्यहरूकाे एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ बचत रकम अपचलन गरेको आरोप छ ।

लामिछानेमाथि कास्की र काठमाण्डौबाहेक रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ । ती जिल्लाहरूमा पनि लामिछानेविरुद्ध चाँडै अभियोगपत्रहरू दर्ता हुने सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयहरूले जनाएका छन् ।