नेपाली महिला र पुरुष दुवै टिम खो-खो विश्वकप फाइनलमा

काठमाडौं/ नेपाली खो खो खेलको लागि लागि आजको दिन ऐतिहासिक बन्ने भएको छ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ ।
आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८ः१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ । खो खो खेल खासै चर्चित नभएपनि अहिले भइरहेको खो खो विश्वकपबाट भने यस खेलले राम्रै चर्चा पाएको छ । पहिलोपटक विश्वकप हुँदा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेपछि नेपालमा पनि अहिले खो खो खेलको बारेमा चर्चा बढेको छ । अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपमा यो स्तरको प्रदर्शन गरेको यो पहिलोपटक हो ।
नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले यस विश्वकपबाट खो खो खेललाई चिन्ने र चिनाउने अवसर चएको बताए । फाइनल पुगेका कूल चार मध्ये तीन टोली अपराजित छन् । महिलातर्फ नेपाल र भारत दुव अपराजित रहँदै फाइनल पुगेका हुन् । पुरूषतर्फ भारत अपराजित रहेर फाईनल पुग्दा नेपालले भने एक खेल मात्र हारेको छ । पहिलो खेलमा भारतसँग पराजित भएपछि नेपालले त्यसयता सबै खेल जितेर फाइनलसम्म आइपुगेको हो ।
महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । त्यसैगरी क्वाटरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९–१८ ले पराजित गरेको हो ।
यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०–३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हराएको थियो । क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई ७२–२० ले पराजित गर्दै फाइनल पुगेको हो ।