पाँचखालमा ७ सय जना भन्दा बढीको निःशुल्क आँखा परिक्षण

पाँचखाल नगरपालिकाका विभिन्न स्थानमा ७ सय जना भन्दा बढीको निःशुल्क आँखा परिक्षण गरिएको छ । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क मोतिविन्दु स्क्रिनिङ शिविर सञ्चालन भएको थियो ।

नगरपालिकाका विभिन्न ११ स्थानमा ४ दिनसम्म सञ्चालन भएको शिविरका लागि माट्रिका आइ सेन्टरले प्राविधिक सहयोग गरेको थियो । शिविरमा ७ सय भन्दा बढीले आँखा जाँच गराएका अस्पतालले जानकारी दिएको छ । आँखा जाँच गराएका मध्ये १६३ जनाको सल्यक्रियाका लागि सिफारिस भएको थियो । जसमध्ये ६५ जनाको शल्यक्रिया भएको छ ।

सुगर, प्रेसर लगायतका कारण कतिपयको सल्यक्रिया सम्भव नभएको माट्रिका आइ सेन्टरले जनाएको छ । आँखा जाँच गराएका मध्ये २३ प्रतिशत भन्दा बढीमा समस्या देखिएको छ । नगरपालिका क्षेत्रमै अस्पतालको पहुँच नजिकै भएर पनि यति धेरैमा समस्या देखिनु सामान्य रुपमा लिन नसकिने डा.कल्याण ढुंगानाले बताए । अप्रेशनको प्रकृति हेर्दा अधिकांशमा मातिविन्दुको जटिल अवस्था देखिएको डा. ढुंगानाले बताए । विगत वर्षभन्दा आँखामा देखिने समस्या कम हुँदै गएपनि अप्रेशन गर्नुपर्ने विरामीको अवस्था हेर्दा समयमै पहिचना गर्न नसक्नु मुख्य चुनौतीका रुपमा देखिएको उनले बताए ।

धुँवा, धुलो, उद्योग तथा कलकारखानामा सुरक्षाका उपाय नअपनाई गरिने कार्य र सुर्यको किरण सोझै आँखामा पर्दा पनि आँखा सम्बन्धी समस्या आउने डा.ढुंगानाले बताए । जनचेतनाको कमी रहेको भन्दै उनले रोग लागेपछि मात्रै उपचार गर्ने परिपाटी अझै पनि रहेको भेटिएको बताए । समयमै पहिचान भएमा सहजै उपचार हुनसक्ने भन्दै डा.ढुंगानाले समस्या बढ्दै गएपछि उपचार पनि कठिन हुने बताए । समय–समयमा आँखा जाँच गराउन उनको सुझाव छ ।

शिविर अन्तर्गत पहिलो दिन पाँचखाल नगरपालिका वडा नम्बर १ को कोट्याङ शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ मा केराघारी शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १० को शहरी स्वास्थ्य केन्द्रमा मोतिविन्दुको स्क्रिनिङ शिविर गरिएको आर्थिक विकास मित्र साकोस बनेपा सेवा केन्द्र प्रमुख प्रभुराम कोइरालाले जानकारी दिए ।

दोस्रो दिन माघ ३ गते पाँचखाल ८ स्थित होक्से स्वास्थ्य चौकी, वडा नम्बर ९ को साठ्ठीघर स्वास्थ्य चौकी, वडा नम्बर ११ मा खरेलथोक स्वास्थ्य चौकी र वडा नम्बर १३ मा कोशिदेखा स्वास्थ्य चौकीमा शिविर भएको थियो । माघ ४ गते पाँचखाल नगरपालिका–३ समाजकल्याण शहरी स्वास्थ्य केन्द्र, पाँचखाल–६ मा प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोक, पाँचखाल–७ मा श्रीरामपाटी शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १२ मा देवभूमी बालुवा स्वास्थ्य चौकीमा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ गरिएको थियो । शिविरमा पहिचान भएका अप्रशन गर्नुपर्ने विरामीको आँखा अप्रेशन माघ ५ गते निःशुल्क गरिएको थियो ।

साकोसका अध्यक्ष बाबुकाजी पराजुलीले शिविरसँगै सचेतना कार्यक्रम पनि गरिएको बताए । बचत तथा ऋणको कारोबार मात्रै नभई सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर लगायतका सामाजिक काम समेत साकोसले गरिरहेको उनले बताएका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले गाउँमै भएको विशेषज्ञ सेवाले आँखा जाँचका लागि सदरमुकाम धाउनुर्ने बाध्यताहट्नुको साथै रोग भए/नभएको पहिचान भएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकासँगको सहकार्यमा शिविर आयोजना गरिएको आर्थिक प्रशासन विभाग प्रमुख मनुप सापकोटाले बताए ।