असोज १०–१२ मा भएको विपत्तिबाट पाँचखालमा १ सय २५ योजना तथा १ सय १२ घरमा पूर्ण क्षति

 

पाँचखाल/पाँचखाल नगरपालिकामा असोज १०–१२ गते परेको अविरल वर्षातका कारण पाँचखाल नगरपालिकामा बसोबास गरिरहेका नागरिकहरुका १ सय १२ घर पूर्ण रुपमा क्षति भएको छ । बसोबास गरिरहेका ६८ वटा घर आंशिक क्षति भएका छन् । १ सय २५ वटा योजनामा क्षति पुगेको छ । केहि योजना तथा आयोजनाहरु मर्मत पछि संचालनमा आएका छन् । केहि पूर्ण रुपमा क्षति भएका छन् । केहि आंशिक क्षति छन् ।

त्यस्तै ४८ वटा गोठ आंशिक रुपमा क्षति भएका छन् भने १३ वटा विद्यालय र ३ वटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको नगरपालिकाले जानकारी दिएको छ । त्यस्तै ३ वटा गाई/गोरु, ४ वटा भैसी, ३२ वटा बाख्रा, २८ वटा बंगुर, ३ सय ५४ वटा कुखुरा मरेका छन् । ६ हजार रोपनी खेतमा लगाएका धान र १ हजार रोपनीमा लगाएको अन्य बालीमा क्षति पुगेको छ । पानी तान्ने मेशिन तथा पाईपहरु बगाएको, पुरिएको नगरपालिकाले जानकारी दिएको छ ।

विशेषगरी विपत्तिबाट पाँचखाल नगरपालिकामा ल्याउँदै गरिएको सुनकोशी खानेपानी लगायत अन्य खानेपानी आयोजना, सडक पुर्वाधार, सिंचाई, डिपबोरिङ्ग लगायतका संरचनामा क्षति पुगेको नगरपालिकाले जानकारी दिएको छ । खोलाको कल्भर्ट, मेसिनरी वाल, ग्याविन वाल, रिटेनिङ्ग वाल, पुल लगायतका संरचनामा क्षति पुगेको छ ।
जिल्ला स्तरीय समिक्षा बैठकमा नगरपालिकाका अधिकृतस्तर छैटौ गणेशप्रसाद खरेलले समग्र नगरमा भएको क्षतिको वडागत विवरण प्रस्तुत गरेका थिए । वडा नम्वर १ मा १४ वटा, वडा नम्वर ३ मा ६, वडा नम्वर ४ मा ३, वडा नम्वर ५ मा ८ वटा आयोजनामा क्षति पुगेको छ । वडा नम्वर ६ मा ११, वडा नम्वर ७ मा ५, वडा नम्वर ८ मा २० वटा योजनामा क्षति पुगेको छ । त्यस्तै वडा नम्वर ९ मा ८, वडा नम्वर १० मा ७ वटा, वडा नम्वर ११ मा १६ वटा, वडा नम्वर १२ मा ११ वटा र वडा नम्वर १३ मा १६ वटा योजनामा क्षति पुगेको छ । अधिकांश योजना, नागरिकहरुको घरको पुनर्निमाण तथा मर्मतका लागि स्थानीय सरकार, विभिन्न संघ संस्था तथा माथिल्लो तहका सरकारसँग समन्वय गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिए ।

पाँचखाल नगरपालिकाको कुल क्षेत्रफल १०२.९५ वर्ग किमि रहेको छ । जनगणना २०७८ अनुसार ३५ हजार ५ सय २१ जनसंख्या रहेको छ । ९ हजार १ सय ३३ घरधुरी रहेको पाँचखालमा १३ वटा वडा छन् । उचाई समुन्द्र सतहवाट ५९४ (कोशीदेखा)देखि १६१२ (अनैकोट भ्यू टावर) मि.सम्म रहेको छ । सिमानाका हिसावले पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन् । काठमाडौंबाट ४५ कि.मि.पूर्व, धुलिखेलबाट १५ किलोमिटर दक्षिण पूर्वमा रहेको पाँचखालमा अधिकतम औषत तापक्रम ३२ डिग्री सेल्सियस, न्यूनतम ओैषत तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । मुख्य जाती बाह्रमण, क्षेत्री, तामाङ्ग, दनुवार, मगर, गुरूङ्ग, पहरी सोही अनुसार भाषा समेत रहेको छ । पाँचखालको साक्षरता७५.१ प्रतिशत रहेको छ ।