सामुदायिक साकोस ३१ औं वर्षमा प्रवेशः रक्तदान तथा जेष्ठ नागरिक सम्मान

पनौती/बागमती प्रदेश स्तरको नमुना काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायीक सहकारीले ३१ औ स्थापना तथा एकीकरण दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । खुल्ला रक्तदान, जेष्ठ नागरिक सम्मान तथा अन्य कार्यक्रम आयोजना गरिएको अध्यक्ष मुकुन्द शर्मा वाग्लेले जानकारी दिए ।

२०५१ साल माघ १४ गते साविक टौखाल गाविसमा २ वटा वडालाई कार्यक्षेत्र बनाउँदै ३२ हजार ५ सय रुपैया शेयर रकम संकलन गरी ४१ जना शेयर सदस्यहरु संलग्न भएर शुरु भएको सामुदायिक सहकारीले १७ वटा संस्थासँग एकीकरण गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा १४ वटा सेवा केन्द्र र मुख्य कार्यालय समेत गरी १५ वटा कार्यालयबाट सेवा प्रारम्भ गरेको उक्त सहकारीमा ६ वटा जिल्लामा रहेर कार्य गर्ने कर्मचारीको संख्या १ सय ३४ पुगेको छ । ६ अर्ब २४ करोड ७१ लाख ८ हजार ४ सय १ रुपैयाको कुल सम्पति रहेको छ । ६० हजार ३ सय ६४ जना शेयर सदस्य रहेको सहकारीमा ६ हजार ५ सय १८ जना ऋणी छन् ।
चालु वर्षको पौष मसान्तसम्म ५२ करोड ११ लाख शेयर पुँजी रहेको उक्त सहकारीमा ४२ करोड भन्दा धेरै रकम जगेडा कोषमा राखिएको छ । २५ करोड ९९ लाख विभिन्न कोषमा र ८६ करोड तरलतामा छ । प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतका अनुसार १५ प्रकारका बचत र २१ प्रकारका ऋणमा सदस्यहरुलाई सहजता प्रदान गरिएको छ ।

सामुदायीक सहकारीले ६० वटा नीति, निर्देशिका, कार्यविधी तयार गरी संचालन भईरहेको छ । सदस्यहरुलाई विभिन्न सहुलियत प्रदान गरिएको छ । घातक रोग लागेको अवस्थामा सदस्यलाई २५ हजार र परिवारलाई ३३ प्रतिशत उपचार खर्च उपलब्ध गराउने छ ।
चालु वर्षको ६ महिनामा सदस्यहरुलाई १ करोड ५ लाख २३ हजार सहुलियत अनुदान उपलब्ध गराईएको छ । कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, सहकारीसँग सम्वन्धित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सचिव सरोज तिमल्सिनाले संचालन गरेका थिए ।