धुलिखेल भित्र रहेका बालगृहका किशोरकिशोरीहरुलाई सकारात्मक सोच सम्वन्धी अभिमुखीकरण

धुलिखेल/धुलिखेल नगरपालिकाले बालगृहमा रहेका किशोर किशोरी लक्षित सकारात्मक सोचको विकास गर्ने उदेश्यले एक दिने सकारात्मक सोच सम्वन्धी प्रशिक्षण उपलब्ध गराएको छ । विशेषगरी बालगृहमा रहेका बालबालिकाहरुलाई समाजमा रहेका हरेक क्षेत्रमा हुन सक्ने संर्घषपूर्ण जीवनमा सकारात्मक सोचको विकास गराउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक गणेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख ब्याञ्जुले बालबालिकाहरु काँचो माटो जस्तै भएकाले उनिहरुको सिकाई, भोगाई र अनुभुतिमा सकारात्मक सोच र उदेश्यको विकास गराउँदै लैजानु पर्ने बताए ।

नगरपालिकाले सोहि कार्यक्रम अन्र्तगत पहिलो चरणमा बालगृहमा रहेका बालबालिकाहरुलाई सोहि कार्यक्रम मार्फत सकारात्मक सोचको विकास गराउने जमर्काे गरेको नगर प्रमुख ब्याञ्जुले बताए ।

कार्यक्रममा बरिष्ठ प्रशिक्षक एवं सकारात्मक सोचका बक्ता प्रकाश पौडेलले किशोरकिशोरीहरुलाई प्रशिक्षित गराएका थिए । कार्यक्रममा शाखा अधिकृत पुजा काफ्लेको स्वागत र संगिता भण्डारीको संचालन रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, शाखा अधिकृतहरु, नगरपालिका कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो । साथै बालगृहका संचालक र बालगृहमा कार्यरत कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।