काभ्रेमा विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा उनले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् ।
तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरु कांग्रेस, एमाले लगायतका दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
धुलिखेल नगरपालिकाको हलमा राजनीतिक वैचारिक प्रशिक्षण जारी छ । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य सूर्यमान दोङलगायतका नेताहरुको सहभागिता रहेको छ ।