धर्म प्रचारको आरोपमा धरानबाट १८ जना विदेशी नागरिक पक्राउ

धर्म प्रचारको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
सुनसरीको धरान उपमहानगरपालिका–५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरूलाई प्रशासनले सोधपुछ गरी चेतावनी दिएर छाडेको छ भने उनीहरूबाट बरामद कागजात अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अध्यागमन विभागको जिम्मा लगाएको छ ।
प्रहरीका अनुसार गत माघ २२ मा भवन निर्माणका लागि धरान पुगेको थाहा पाएपछि उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । एक अधिकारीले भने, ुनिजहरूको राहदानी चेक गर्दा पर्यटक भिसामा नेपाल आएको तर भिसाको अवज्ञा गरी चर्चको भवन बनाउन श्रमदान गरेको पाइएकाले निजहरूका नाममा जारी भएको राहदानी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।ु
पक्राउ परेका अमेरिकी नागरिक १५ दिने भिसा लिएर मात्र नेपाल प्रवेश गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताए । अध्यागमन स्रोतका अनुसार उनीहरूलाई कसुरको मात्रा हेरी के कारबाही गर्ने भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।