कमिसनको दलदलमा फसेका भुम्लुका कनिष्ठ कर्मचारी भट्टराईको जिम्मेवारी मन्त्रालयले खोस्यो
भुम्लु/सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई पटक पटक हाजिर नगराउने भुम्लु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतका रुपमा निमित्त भई कार्य गरिरहेका कनिष्ठ कर्मचारी सुर्दशन भट्टराईको जिम्मेवारी खोसिएको छ ।
हरेक योजना तथा सामान्य कार्यमा घुमाएर कमिसन लिदै उक्त कमिसन जनप्रतिनिधि तथा विभिन्न क्षेत्रमा बुझाएर पद थमौती गर्दै आएका भुम्लुका स्वास्थ्य शाखामा कार्यरत भट्टराईको जिम्मेवारी मन्त्रालयले खोसेको हो । उनी लगायत १६ जनाको जिम्मेवारी खोस्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज शुक्रबार १६ स्थानीय तहका कनिष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार खोसेर जिम्मेवारीबाट हटाएको हो । उक्त निर्णयसँगै, कानूनविपरीत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिईएका नेपाल स्वास्थ्य सेवा, शिक्षा सेवा तथा स्थानीय प्रशासन सेवाका कनिष्ठ अधिकृतको जिम्मेवारीसमेत खोसिएको मन्त्रालयले जनाएको छ ।
यसअघि पनि मन्त्रालयले १० नगरपालिका र १३ गाउँपालिकामा कनिष्ठ भएर पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो ।अझै पनि कतिपय स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी सम्हाल्दै आएका छन् । ती पालिकामा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर कर्मचारी पठाए पनि स्थानीय जनप्रतिनिधिले हाजिर नगराएर फिर्ता पठाउने गरेका छन् ।
भुम्लुमा कार्यरत भट्टराई गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई रिझाउँदै निमित्तको जिम्मेवारी लिएर चेकमा हस्ताक्षर गर्दै आएका थिए । उनले हस्ताक्षर गरेका ९० प्रतिशत चेकको कमिसन फिर्ता माग्ने गरेको उपभोक्ताहरुले बताएका छन् ।






