कविता: सक्दिन म

उडिरहन सक्दिन म
चराजस्तै आकाशमा
म त धर्तीमा रमाउने मान्छे
धरणी नै मेरो स्वर्ग ।
असार/ साउन
आकाशबाट पृथिवीमा
झरी बनेर झरेजस्तै
वर्षामा रूपान्तरित हुन म कहाँ सक्छु?
म आफू उभिएको
जमिनलाई पूज्ने मान्छे
म यस्को आराधना मात्र गर्न समर्थ छु
वर्षाले जस्तै
भिजाउने ल्याकत मसँग छैन
झरीझैँ झर्ने सामर्थ्य पनि भएको होइन ।
दौडिरहन सक्दिन म
सूर्यको प्रकाशजस्तै
म त माटोकै सेरोफेरो रहेर
सुस्तरी बहन सक्छु
तर सक्दिन
यो धरा छोडेर
माथिमाथि आकाशमा
उडिरहन कुनै चराजस्तै ।
म त मान्छे हुँ
पखेटा बिनाको मान्छे
म
भूगोलभरि छर्नसक्छु
मेरा पाइलाहरू
अनि
स्नेहको बिउ सिंचन गर्दै
प्रीतिको फूलसम्म फुलाउनसक्छु ।