अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् । सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताएका हुन् ।
संसद्को हिउँदे अधिवेशन शुरू हुनुअघि सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक शुरू भएपछि अध्यादेशहरू पेश गर्नुपर्ने प्रावधान छ । तर राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि सरकारले अध्यादेशहरू निर्णयार्थ पेश गरेको छैन ।
यसैबिच जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने भएको छ ।
शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरूको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन् ।