शुभ चामुण्डा मावि ६९ वर्षमा, अनिश्चित राशीको पुरस्कार घोषणा गर्ने दाता थपिए

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ३ टुसालमा रहेको शुभ चामुन्डा माध्यमिक विद्यालयले स्थापनाको ६९ औ बार्षिकोत्सव, अभिभावक भेला, छात्रबृत्ति तथा पुरस्कार वितरण समारोह नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गौतम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष रमेश दाहाल, विद्यालयका सल्लाहकार एवं निवर्तमान वडा अध्यक्ष केपी दाहाल, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका दाताहरु हरिश्चन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका वडा समिति सचिव कुलप्रसाद बजगाई, पुर्व शिक्षक पुरुषोतम बजगाई तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक ओमप्रसाद थपलियाले विद्यालयको बार्षिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा दाताहरुले विद्यार्थीहरुलाई स्वयं उपस्थित भएर पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाले सामुदायीक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न कार्यक्रमहरु संचालन गरी बजेट ब्यवस्थापन गरेको बताए ।
विद्यालयले कक्षा ८ को नगर स्तरीय परीक्षामा सहभागि भई नगर भित्रका सामुदायिक विद्यालय भित्र पहिलो र सम्पूर्ण विद्यालयमा तेश्रो हुन सफल भएको थियो । विद्यालयले ९५ प्रतिशत विद्यार्थीहरु उर्तिण गराएको छ । समग्रमा विद्यालयले विद्यार्थीहरुको जग मानिएको कक्षा ८ देखि नै गुणस्तर सुधार्ने प्रयत्न गरेको प्रधानाध्यापक थपलियाले बताए । विद्यालयमा २ सय ३० जना विद्यार्थीहरु चालु शैक्षिक सत्रमा अध्ययनरत छन् । २०२२ साल असोज १२ गते स्थापना भएको विद्यालयले यो वर्ष विपत्तिका कारण बार्षिकोत्सव समयमा नै मनाउन पाएको थिएन ।
२०५२ सालमा निमावी, २०६३ सालमा मावी हुँदै २०६५ सालमा एसईईमा सहभागि भएको विद्यालयले ४ सय ३२ जना विद्यार्थीलाई एसईई उर्तिण गरिसकेको छ । एसईई २०८० मा २७ जना सहभागि भएकोमा २५ जना उर्तिण भएका छन् । बार्षिकोत्सवको अवसरमा विद्यालयमा उत्कृष्ट विद्यार्थीहरुका लागि तथा शुरुको तहका बालबालिकाहरुको सहयोगका लागि अक्षयकोष निर्माण गरी सहयोग गर्ने दाताहरु थपिएका छन् ।
अक्षयकोषमा रामप्रसाद दाहाल, मणिप्रसाद सापकोटा, बालकृष्ण दाहाल, विदुर सिग्देल, धनकुमारी श्रेष्ठ, सरोज बजगाई र रामप्रसाद बजगाईले यस अघिका वर्षहरु देखि नै विद्यार्थीहरुलाई सहयोग गर्ने गरी रकम जम्मा गरेका छन् । शैक्षिक सत्र २०८१ देखि एसईईमा सामेल भई ए जिपिए ल्याउने सबै छात्रछात्रालाई जनही ५ हजार र जिपिए ए + ल्याउनेलाई जनही १० हजारका दरले बार्षिक रुपमा छात्रबृत्ति उपलब्ध गराउने घोषणा सृष्टीकान्त आधारभुत विद्यालयका पुर्व प्रधानाध्यापक, समाजसेवी, शिक्षासेवी, शिक्षक महासंघ बनेपा नगर समितिका अध्यक्ष पुरुषोतम बजगाईले अनिश्चित राशीको पुरस्कार घोषणा गरेका छन् । स्थानीय समाजसेवी हरिश्चन्द्र श्रेष्ठले एक लाखको अक्षयकोषको घोषणा गरेका छन् । अध्यक्ष गौतम श्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारमा सबै क्षेत्रको सहयोग र समन्वयमा कार्य गर्ने बताए ।




